• शुक्रबार-७-२१-२०८३/ 06-Friday-2026

नेपाल विद्यालय कर्मचारी परिषद् चितवनको भेला सम्पन्न,कर्मचारीको हकहित र स्थायित्वका लागि एकजुट हुन आह्वान

चितवन, असोज २७ – विद्यालय कर्मचारीको हकहित, सेवा–सुविधा र पेशागत स्थायित्व सुनिश्चित गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिँदै नेपाल विद्यालय कर्मचारी परिषद्, जिल्ला समिति चितवनको जिल्ला परिषद् भेला तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
‘पेशागत स्थायित्वको लागि कर्मचारी एकता आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मंगलबार भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।
परिषद्का जिल्ला अध्यक्ष सजन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य शिवप्रसाद आचार्य प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वक्ताहरूले विद्यालय कर्मचारीको हकहित संरक्षण, सेवा–सुविधामा सुधार र पेशागत स्थायित्वका लागि देशभरका कर्मचारी एकजुट हुनुपर्नेमा जोड दिए ।
सामुदायिक विद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधि सञ्चालनमा विद्यालय कर्मचारीको भूमिका महत्त्वपूर्ण भए पनि उनीहरूको सेवा, सुविधा र पेशागत सुरक्षाका विषयमा साझा पहल आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।
 
राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोट
जिल्ला परिषद् भेलामा सङ्गठनका विभिन्न विषय तथा विद्यालय कर्मचारीसँग सम्बन्धित समसामयिक मुद्दामाथि छलफल गर्दै महत्त्वपूर्ण निर्णय गरिएको परिषद्ले जनाएको छ ।
 
भेलाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । त्यसैगरी, सामुदायिक विद्यालयमा नवनियुक्त कर्मचारीलाई स्वागत गरिएको छ भने सङ्गठनसँग सम्बन्धित सहयोग रकमसमेत अद्यावधिक गरिएको छ ।
 
जिल्लाका सातवटै पालिकाका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो पालिकामा विद्यालय कर्मचारीको सेवा, सुविधा र कार्यअवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । पालिकास्तरबाट प्रस्तुत प्रतिवेदनले कर्मचारीले भोगिरहेका समस्या र अवस्थाबारे छलफल गर्ने आधार प्रदान गरेको आयोजकले जनाएको छ ।
 
सेवा–सुविधा र पेशागत सुरक्षामा जोड
कार्यक्रममा सहभागीहरूले विद्यालय कर्मचारीको पेशागत स्थायित्व सुनिश्चित गर्न सङ्गठनात्मक एकता आवश्यक रहेको बताए । कर्मचारीका समस्या पहिचान गरी सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा आवाज उठाउन जिल्ला, पालिका र विद्यालय तहमा समन्वय हुनुपर्नेमा उनीहरूको जोड थियो ।
 
विद्यालय कर्मचारीका हकहितसम्बन्धी विषयलाई साझा मुद्दाका रूपमा अघि बढाउन तथा सङ्गठनलाई थप सुदृढ बनाउन भेलाले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 
कार्यक्रममा परिषद्का उपाध्यक्ष उपेन्द्र खनियाँले स्वागत मन्तव्य राख्दै भेलाको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन परिषद्का सचिव विष्णुमाया भण्डारीले गरेकी थिइन् ।
 
भेलामा चितवन जिल्लाका सातवटै पालिकाका परिषद् पदाधिकारी, प्रतिनिधि तथा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस

इनर ह्वील क्लबद्वारा श्री आधारभूत विद्यालयलाई शैक्षिक सामग्री र कार्पेट सहयोग

    भरतपुर १६, । इनर ह्वील क्लब अफ भरतपुर सिटी र इनर ह्वील क्लब अफ भरतपुर डिभाइनको संयुक्त आयोजनामा शैक्षिक सामग्री तथा कार्पेट हस्तान्तरण

  कृषि स्नातकोत्तरका विद्यार्थीलाई भिडियोग्राफी तालिम

    १३ साउन, चितवन । ग्राउन्डस्वेल इन्टरनेसनलले आफ्ना साझेदार संस्था ग्रामीण नारी उत्थान संघ र बीबीपी परिवारसँगको सहकार्यमा युवा कथाकार

अमेरिकाले फेर्‍यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने

काठमाडौँ। अमेरिकाले आफ्नो दशकौँ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ।  अमेरिकी गृह सुरक्षा विभाग