स्वदेशी उत्पादन, जसले तोड्दैछन् विदेशी ब्रान्डको दबदबा
काठमाडौँ । कुनै समय नेपाली बजारमा सुईदेखि सुनसम्म र लत्ताकपडादेखि खाद्यान्नसम्म विदेशी उत्पादनकै एकछत्र राज चल्ने गर्थ्यो । ‘विदेशी ब्रान्ड’ भन्नासाथ आँखा चिम्लिएर विश्वास गर्ने र स्वदेशी उत्पादनलाई कमसल वा गुणस्तरहीन ठान्ने नेपाली उपभोक्ताको मनोविज्ञानमा अहिले ठुलो क्रान्ति आएको छ ।
पछिल्लो समय नेपालमै उत्पादन भएका दर्जनौँ ब्रान्डले आफ्नो गुणस्तर, आकर्षक प्याकेजिङ र नेपाली माटो सुहाउँदो मूल्य निर्धारण गरेर विदेशी बहुराष्ट्रिय कम्पनीहरूलाई कडा टक्करमात्र दिएका छैनन्, कतिपय क्षेत्रमा त उनीहरूको आयात नै विस्थापित गरिदिएका छन् ।
नेपालको इनर्जी ड्रिङ्क बजारमा लामो समयसम्म थाइल्यान्ड तथा युरोपबाट आयात हुने महँगा विदेशी ब्रान्डको दबदबा थियो । जब स्वदेशी उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क’ बजारमा प्रवेश गर्यो, यसले छोटो समयमै बजारको समीकरण बदलिदियो । उत्कृष्ट स्वाद, आकर्षक क्यान प्याकेजिङ र विदेशी ब्रान्डको तुलनामा निकै सुलभ मूल्यका कारण यसले युवापुस्ताको मन जित्न सफल भयो ।
आज एक्स्ट्रिमले विदेशी इनर्जी ड्रिङ्कको आयातलाई उल्लेखनीय रूपमा घटाउँदै बजारको ठुलो हिस्सा आफ्नो पोल्टामा पारेको छ, जसले स्वदेशी उत्पादनले पनि अन्तर्राष्ट्रिय स्तरको स्वाद र सन्तुष्टि दिन सक्छ भन्ने प्रमाणित गरेको छ ।
नेपाली जुत्ता उद्योगमा ‘गोल्डस्टार’ले ल्याएको परिवर्तन एउटा औद्योगिक क्रान्ति नै हो भन्दा फरक पर्दैन । सुरुवाती दिनहरूमा गाउँघरमा लगाइने सस्तो र टिकाउ जुत्ताको रूपमा मात्र चिनिने गोल्डस्टारले पछिल्लो समय आफ्नो डिजाइन, प्रविधि र ब्रान्डिङमा व्यापक परिमार्जन गरेको छ ।
अहिले यसले अन्तर्राष्ट्रिय स्तरका ट्रेकिङ, क्याजुअल र स्पोट्र्स स्निकर्सहरू उत्पादन गरेर बजारमा आफ्नो आधिपत्य जमाइरहेको छ । विदेशी महँगा ब्रान्डका जुत्ता लगाउने युवाहरू अहिले गोल्डस्टारका स्टाइलिश जुत्ता लगाएर हिँड्न गर्व गर्न थालेका छन् । नेपालमा मात्र नभई भारत लगायतका देशहरूमा समेत ठुलो मात्रामा निर्यात भइरहेको यो ब्रान्डले सस्तो चिनियाँ र महँगा अन्तर्राष्ट्रिय जुत्ताहरूको बजारलाई नराम्ररी खुम्च्याइदिएको छ ।
केही वर्ष अघिसम्म नेपाली बजारमा महँगा कोरियन स्पाइसी चाउचाउहरू (जस्तै साम्याङ र सिन राम्युन) को ठुलो क्रेज थियो, जसका लागि हरेक वर्ष करोडौँ रुपैयाँ बिदेसिँदै आएको थियो । यशोदा फुड्सले जब ‘करेन्ट’ चाउचाउ बजारमा ल्यायो, यसले कोरियन चाउचाउको आयातलाई लगभग रोकिदियो ।
पिरो र स्पाइसी स्वाद रुचाउने युवापुस्ताको पहिलो रोजाइ बनेको करेन्टले आफ्नो उत्कृष्ट मसला, गुणस्तर र स्वादकै बलमा विदेशी ब्रान्डलाई कडा चुनौती दियो । अहिले यो चाउचाउ नेपालमा मात्र सीमित नभएर भारत, युरोप, अस्ट्रेलिया र अमेरिकाका विभिन्न सहरहरूमा समेत आक्रामक रूपमा निर्यात भइरहेको छ ।
जाडो महिनाका कपडा र ट्रेकिङ गियरको कुरा आउँदा एक दशक अघिसम्म नर्थ फेस वा कोलम्बिया जस्ता विदेशी ब्रान्डका महँगा सक्कली वा सडकमा पाइने नक्कली उत्पादनहरूको विकल्प नेपाली उपभोक्तासँग थिएन । नेपालमै स्थापित ‘सोनाम गियर्स’ले यो अवस्थालाई पूर्ण रूपमा परिवर्तन गरिदियो ।
डाउन ज्याकेट, विन्डप्रुफ ज्याकेट र आउटडोर कपडाहरूमा सोनामले अन्तर्राष्ट्रिय स्तरको फेब्रिक र सिलाइ प्रयोग गरेर ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गरिरहेको छ । गुणस्तरमा विदेशी ब्रान्डसँग दाँजिन सक्ने र मूल्यमा निकै किफायती भएकाले सोनाम गियर्स अहिले विदेशी पर्यटकदेखि हिमाल आरोहण गर्ने पदयात्रीसम्मको पहिलो रोजाइ बन्न सफल भएको छ ।
चौधरी ग्रुपले उत्पादन गर्ने ‘वाइवाइ’ चाउचाउ नेपालको सबैभन्दा सफल ग्लोबल ब्रान्ड हो । नेपालको कुनाकाप्चादेखि विश्वका दर्जनौँ देशसम्म पुगेको वाइवाइले अन्तर्राष्ट्रिय बजारमा बहुराष्ट्रिय ब्रान्डहरूलाई कडा टक्कर दिइरहेको छ । विशेषगरी छिमेकी राष्ट्र भारतमा नेस्ले कम्पनीको बहुचर्चित ‘म्यागी’ चाउचाउसँग यसले वर्षौंदेखि कडा प्रतिस्पर्धा गर्दै आफ्नो छुट्टै र बलियो बजार स्थापित गरेको छ । काँचै खान मिल्ने यसको अद्वितीय स्वाद र सुलभ मूल्य नै यसको विश्वव्यापी सफलताको मुख्य आधार बनेको छ ।
नेपाली जुत्ता बजारमा प्रिमियम लुक्स र फेसनदार डिजाइन खोज्ने युवाहरूका लागि ‘क्यालिबर सुज’ एक उत्कृष्ट र भरपर्दो स्वदेशी विकल्प बनेको छ । नाइक, एडिडास वा पुमा जस्ता विदेशी ब्रान्डका जुत्ता किन्न हजारौँ रुपैयाँ खर्च गर्ने ग्राहकलाई लक्षित गर्दै क्यालिबरले आकर्षक, आरामदायी र टिकाउ स्निकर्स तथा फर्मल जुत्ताहरू बजारमा ल्याएको छ । यसले विदेशी ब्रान्डका महँगा जुत्ता वा तिनका कमसल कपी (नक्कली) जुत्ता लगाएर हिँड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै ‘मेड इन नेपाल’ जुत्तामा शान र स्टायल दुवै पाइन्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
फास्ट–फेसन र स्पोट्र्सवेयरको क्षेत्रमा ‘केटीएम सिटी’ले छोटो समयमै आफूलाई अग्रणी नेपाली ब्रान्डको रूपमा स्थापित गरेको छ । दैनिक लगाइने क्याजुअल पहिरनदेखि लिएर राष्ट्रिय खेलकुद टोलीका आधिकारिक जर्सीहरू निर्माण गर्नेसम्मको यात्रा तय गरेको यस ब्रान्डले बजारमा पाइने विदेशी रेडिमेड कपडाहरूलाई कडा टक्कर दिइरहेको छ । गुणस्तरीय सुती कपडा, आधुनिक डिजाइन र हरेक उमेर समूहलाई मिल्ने उत्पादनहरूका कारण केटीएम सिटीका आउटलेटहरूमा नेपाली ग्राहकको बाक्लो भिड लाग्ने गरेको छ ।
नेपालमै पूर्ण रूपमा डिजाइन र निर्माण गरिएको ‘यात्री’ विद्युतीय मोटरसाइकल नेपालको प्रविधि र अटोमोबाइल क्षेत्रको एक क्रान्तिकारी तथा गर्विलो उत्पादन हो । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधि, प्रिमियम कार्बन फाइबर बडी र स्मार्टफोनसँग कनेक्ट हुने फिचर बोकेको यात्रीले नेपालमा भित्रिने महँगा विदेशी मोटरसाइकलहरूलाई ठाडै चुनौती दिने देखिन्छ । यसले नेपाली इन्जिनियरहरूले पनि विश्वस्तरीय सवारी साधन बनाउन सक्छन् भन्ने प्रमाणित गर्दै नेपाली युवाहरूमा स्वदेशी प्रविधिका प्रति अगाध विश्वास जगाएको छ ।
मदिरा उत्पादनको क्षेत्रमा ‘खुकुरी रम’ दशकौँदेखि एक स्थापित र सम्मानित नाम हो । यसले अन्तर्राष्ट्रियस्तरमा विभिन्न स्वर्ण पदक र अवार्ड जितेर आफ्नो गुणस्तर विश्वसामु प्रमाणित गरिसकेको छ । बजारमा जतिसुकै विदेशी बहुराष्ट्रिय रम वा ह्विस्कीका ब्रान्ड आए पनि खुकुरी रमको विशिष्ट स्वाद र यसले बोकेको ऐतिहासिक विरासतलाई कसैले पनि पछाडि पार्न सकेको छैन । यो ब्रान्ड नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको लागि एउटा उत्कृष्ट कोसेली समेत बन्ने गरेको छ ।
यती डिस्टिलरीको उत्पादन ‘ओल्ड दरबार’ ह्विस्कीले नेपालको प्रिमियम मदिरा बजारमा एउटा नयाँ मानक नै स्थापित गरिदिएको छ । केही वर्ष अघिसम्म ब्लु लेबल, सिभास रिगल वा भारतका महँगा ब्लु–रिबन ह्विस्कीहरू मात्र खोज्ने पारखीहरूको रोजाइमा अहिले ओल्ड दरबार पर्ने गरेको छ । स्कटल्यान्डबाट ल्याइएका उत्कृष्ट कच्चा पदार्थ र नेपालकै शुद्ध हिमनदीको पानी प्रयोग गरेर बनाइने यो ह्विस्कीको प्याकेजिङ र स्वाद यति उत्कृष्ट छ कि यसले विदेशी महँगा ह्विस्कीहरूको आयातलाई उल्लेखनीय रूपमा घटाएको छ । विदेशी पाहुनाहरूलाई उपहार दिनदेखि लिएर ठुला कर्पोरेट जमघटहरूसम्म ओल्ड दरबारले एउटा ‘क्लासिक’ नेपाली ब्रान्डको रूपमा आफूलाई उभ्याएको छ ।
टेलिभिजन प्रसारण र सूचना प्रविधिको क्षेत्रमा ‘डिसहोम’ले ल्याएको क्रान्तिले विदेशी निर्भरतालाई कानुनी र प्राविधिक दुवै रूपमा जरैबाट उखेलेको छ । कुनै समय नेपाली घर–घरमा भारतीय डीटीएच सेवाहरू जस्तैः टाटा स्काई, एयरटेल र भिडियोकनको अवैध प्रयोग निकै बढेको थियो, जसले गर्दा नेपालबाट बर्सेनि ठुलो रकम बाहिरिइरहेको थियो । तर नेपालकै आफ्नै स्याटेलाइट टेलिभिजन सेवा प्रदायकको रूपमा डिसहोमको प्रवेश र विस्तारपछि ती सबै विदेशी सेवाहरू विस्थापित भए । अहिले यसले इन्टरनेट र आइपी टिभीको क्षेत्रमा समेत आक्रामक विस्तार गरेर विदेशी बहुराष्ट्रिय कम्पनीहरूको कुनै पनि प्रभावलाई नेपाली टेलिभिजन नेटवर्कमा पर्न दिएको छैन ।
नेपाली बियर बजारमा टुबोर्ग, काल्सबर्ग र सानमिगेल जस्ता बहुराष्ट्रिय ब्रान्डहरूको लामो समयदेखि वर्चस्व रहँदै आएको थियो । तर यती ब्रुअरीले उत्पादन गरेको ‘अर्ना’ बियरले आफ्नो आक्रामक बजार रणनीति र पृथक् स्वाद मार्फत विदेशी ब्रान्डको बजार हिस्सा खोस्न सफल भएको छ । कम कार्बोहाइड्रेट भएको लाइट बियरदेखि लिएर प्रिमियम लागरसम्मका विभिन्न भेरियन्ट बजारमा ल्याएर अर्नाले उपभोक्तालाई प्रशस्त विकल्प दिएको छ र विदेशी ब्रान्डलाई गम्भीर प्रतिस्पर्धामा उतारेको छ ।
होम एप्लायन्स अर्थात् घरायसी विद्युतीय उपकरणको क्षेत्रमा ‘सिजी इलेक्ट्रोनिक्स’ले सामसङ, एलजी, र सोनी जस्ता ठुला बहुराष्ट्रिय कम्पनीहरूसँग कडा प्रतिस्पर्धा गरिरहेको छ । टेलिभिजन, फ्रिज, वासिङ मेसिनदेखि लिएर साना भान्साका उपकरणसम्ममा सिजीले किफायती मूल्यमा गुणस्तरीय सेवा र राम्रो बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) दिएर नेपाली मध्यमवर्गीय परिवारको घर–घरमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।ratopati










प्रतिकृया दिनुहोस