प्रहरी झुक्याउन अफिमको ट्रान्जिट काठमाडौंलाई बनाउन थालेको खुलासा
लागू औषधका तस्करले प्रहरी झुक्याउन काठमाडौंलाई ट्रान्जिट बनाउन थालेको खुलेको छ।लागूऔषध नियन्त्रण ब्युरोले सोमबार बरामद गरेको अफिम भारत लैजान काठमाडौंलाई ट्रान्जिट बनाएको पत्ता लागेपछि यो रहस्य सार्वजनिक भएको हो।
प्रहरीले उत्पादन हुने स्थान र सम्भावित गन्तब्यका आधारमा सुराकी बढाएपछि तस्करले लागू औषध काठमाडौँमा केही समय राखेर भारत पठाउन थालेका हुन्।ब्युरोले आइतबार काठमाडौं भित्रिएको ४ केजी अफिमसहित ३ जनालाई पक्रेको हो। पक्राउ पर्नेमा मकवानपुरका सोमबहादुर तितुङ, बज्रबहादुर बोम्जन र प्रेमबहादुर थिङ रहेका छन्।
ब्युरोका अनुसार पक्राउ परेकामध्ये तितुङ अवैध अफिम खेती गर्न किशानहरूलाई आर्थिक सहयोग गर्ने ब्यक्ति हुन। उनले नै उत्पादित अफिम खरिद गर्ने र भारतसम्म पुर्याउदै आएका थिए।‘लामो समयदेखि हामीले निगरानी गरिरहेका थियौं, भारत लैजान काठमाडौंलाई ट्रान्जिट बनाएको देखिन्छ’, ब्युरो प्रमुख ठुले राईले भने।
उनका अनुसार एकैपटक यति ठुलो मात्रामा अफिम ब्युरोले पहिलोपटक बरामद गरेको हो।‘यो हेरोइनको कच्चा पदार्थ हो, नेपालमा रिफाईन गर्ने उद्योग छैन, पहिला केहीदिन काठमाडौं राख्ने पछि भारत लैजाने योजना हो’, ब्युरो प्रमुख राईले भने।बरामद अफिमको बजारमूल्य १५ लाखको हाराहारीमा छ।














प्रतिकृया दिनुहोस