• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

  कृषि स्नातकोत्तरका विद्यार्थीलाई भिडियोग्राफी तालिम

    १३ साउन, चितवन । ग्राउन्डस्वेल इन्टरनेसनलले आफ्ना साझेदार संस्था ग्रामीण नारी उत्थान संघ र बीबीपी परिवारसँगको सहकार्यमा युवा कथाकार कार्यक्रमअन्तर्गत तयार पारिएका चार लघु चलचित्र प्रदर्शन गरेको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को बहुउद्देश्यीय हलमा बुधबार दिउँसो २ देखि ४ बजेसम्म आयोजित इम्प्याक्ट फिल्म स्क्रिनिङमा विद्यार्थी, प्राध्यापक र किसान गरी करिब ९० जना सहभागी थिए। प्रदर्शित चलचित्रमा महिला किसानको दैनिक जीवन, पोषण गृहवाटिका, पशुधन बीमा तथा घुम्टो प्रथालाई चुनौती दिँदै सामुदायिक नेतृत्वमा अघि बढेका महिलाका कथा समेटिएका थिए।

कार्यक्रममा ग्राउन्डस्वेल इन्टरनेसनल, कृषि तथा वन विज्ञान विश्वविद्यालय र अर्गानिक लर्निङ सेन्टरको सहकार्यमा कृषि स्नातकोत्तर तहका विद्यार्थीका लागि सञ्चालन गरिएको तीनदिने अभिलेखीकरण तथा मोबाइल भिडियोग्राफी तालिमका अनुभव पनि प्रस्तुत गरिएको थियो।

विद्यार्थीले तालिम र स्थलगत अभ्यासबाट सिकेर निर्माण गरेका भिडियोसमेत कार्यक्रममा प्रदर्शन गरेका थिए। ‘फिल्ड टु फिल्म’ महोत्सवका चलचित्र एएफयूमा देखाइएका चार चलचित्र यसअघि २८ फेब्रुअरी २०२६ अर्थात् १६ फागुन २०८२ मा अनलाइन आयोजना भएको चौथो ‘युवा कथाकार फिल्ड टु फिल्म फेस्टिभल’ को दक्षिण एसिया संस्करणमा प्रदर्शन गरिएका थिए। दक्षिण एसिया संस्करण नेपाली भाषामा अंग्रेजी व्याख्यासहित सञ्चालन भएको थियो।

साना किसान समुदायका युवाले निर्माण गरेका चलचित्रलाई फराकिलो दर्शकमाझ पुर्‍याउनु महोत्सवको उद्देश्य थियो। संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा महोत्सवको चौथो संस्करण महिला किसानका कथामा केन्द्रित थियो। कृषि तथा खाद्य प्रणालीमा उत्पादनदेखि प्रशोधन र व्यापारसम्म महिलाले निर्वाह गर्दै आएको भूमिकाको पहिचान गर्नुका साथै उनीहरूले सामना गरिरहेका चुनौतीबारे जनचेतना बढाउनु अन्तर्राष्ट्रिय महिला किसान वर्षको उद्देश्य हो। ‘हाम्रो माटो, हाम्रो कथा’ भन्ने भावनासहित तयार गरिएका चलचित्रले प्राकृतिक खेती, घरपरिवारको पोषण, आर्थिक सुरक्षा र सामुदायिक नेतृत्वमा महिला किसानले पुर्‍याएको योगदानलाई युवाको दृष्टिकोणबाट प्रस्तुत गरेका छन्। नेपालमा ग्राउन्डस्वेल इन्टरनेसनलले बीबीपी परिवार र ग्रामीण नारी उत्थान संघसँगको साझेदारीमा युवा कथाकार कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा सहभागी युवाले चलचित्र निर्माण, अन्तर्वार्ता, फिल्ड डकुमेन्टेसन र सम्पादनसम्बन्धी सीप सिकेर महिला किसानका खेतबारी, बालीनाली, संघर्ष, स्थानीय ज्ञान र जीवनमा आएको परिवर्तनका कथा क्यामेरामा कैद गरेका थिए। के हो युवा कथाकार कार्यक्रम? ग्राउन्डस्वेल इन्टरनेसनलको युवा कथाकार कार्यक्रमले ग्रामीण समुदायका युवालाई आफ्नै गाउँठाउँका किसानको जीवन, अनुभव, ज्ञान, समस्या र स्थानीय समाधानका कथा खोज्न तथा अभिलेख गर्न सहयोग गर्छ। कार्यक्रमअन्तर्गत युवालाई कथा निर्माण, अन्तर्वार्ता, फोटोग्राफी, भिडियो छायांकन र सम्पादनसम्बन्धी प्रशिक्षण दिइन्छ। युवाले किसानको दैनिक जीवन, पुरानो पुस्तासँग रहेको ज्ञान, स्थानीय नवीन अभ्यास र कृषिपारिस्थितिकीमार्फत समुदायमा भइरहेका परिवर्तनलाई आफ्नै भाषा र दृष्टिकोणबाट प्रस्तुत गर्छन्। ग्राउन्डस्वेल इन्टरनेसनलले सन् २०२१ मा बुर्किना फासो र होन्डुरसबाट परीक्षणका रूपमा युवा कथाकार कार्यक्रम सुरु गरेको थियो। स्थानीय साझेदार संस्थामार्फत कार्यक्रम अहिले नेपालसहित ११ देशमा विस्तार भएको संस्थाले जनाएको छ। युवा कथाकारले निर्माण गरेका चलचित्र स्थानीय समुदायका भेला, सामाजिक सञ्जाल र वार्षिक ‘फिल्ड टु फिल्म फेस्टिभल’ मार्फत प्रदर्शन गरिन्छन्। किसानले अपनाएका स्थानीय समाधानलाई अन्य समुदायसम्म पुर्‍याउने, पुरानो पुस्ताको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने, युवालाई कृषि तथा खाद्य प्रणालीका विषयमा सक्रिय बनाउने र किसानका अनुभव फराकिलो दर्शक तथा नीतिनिर्मातासम्म पुर्‍याउने लक्ष्य कार्यक्रमले राखेको छ। महिला किसानको दैनिकी चलचित्रमा बीबीपी परिवारसँग आबद्ध काभ्रेकी युवा महिला किसान तथा कथाकार सुमित्रा बजगाईंले निर्माण गरेको‘नेपालकी एक महिला किसानको जीवनको एक दिन’ अर्थात् A Day in the Life of a Woman Farmer in Nepal चलचित्रले महिला किसानको दैनिक जीवन प्रस्तुत गरेको छ। चलचित्रमा बिहान उठेदेखि राति नसुत्दासम्म महिला किसानले घरपरिवार, बालबालिका, खेतीपाती र पशुपालनमा निर्वाह गर्ने जिम्मेवारी देखाइएको छ। परिवारको हेरचाह र कृषि उत्पादनमा महिलाको ठूलो योगदान रहे पनि उनीहरूको श्रमले पर्याप्त मान्यता नपाएको विषय चलचित्रले उठाएको छ। बजगाईंका अनुसार महिलाले घरपरिवार र बालबालिकाको हेरचाहसँगै खेती तथा आयआर्जनको काम गरेर बालबालिकाको पढाइ खर्चसमेत जुटाइरहेका हुन्छन्। “महिला बिहान उठेदेखि राति नसुत्दासम्म कुनै न कुनै काममा व्यस्त हुन्छन्,” बजगाईंले भनिन्, “अपमान र दुर्व्यवहारबाट मुक्त हुन महिलाले सबैभन्दा पहिले आत्मनिर्भर बन्नुपर्छ।” पोषण गृहवाटिकाबाट स्वास्थ्य र आम्दानी बीबीपी परिवारसँग आबद्ध सिन्धुलीका युवा महिला किसान विमला श्रेष्ठ र सुस्मिता श्रेष्ठले निर्माण गरेको ‘नेपालमा उत्थानशीलता बढाउन पोषण गृहवाटिका’ अर्थात् Nutrition Home Gardens for Growing Resilience in Nepal चलचित्रले पोषण गृहवाटिकाको महत्त्व प्रस्तुत गरेको छ। चलचित्रले महिलाले गृहवाटिकामा उत्पादन गर्ने तरकारी तथा फलफूल, परिवारको भान्सामा पुग्ने खाना र परिवारको स्वास्थ्यबीचको सम्बन्ध देखाएको छ। स्थानीय स्रोत प्रयोग गरेर गरिने प्राकृतिक खेतीले उत्पादन लागत घटाउन, पोषण सुधार गर्न र स्थानीय अर्थतन्त्र बलियो बनाउन पुर्‍याउने योगदान पनि चलचित्रमा समेटिएको छ। विमला श्रेष्ठका अनुसार प्राकृतिक खेती अपनाउँदा समुदायको स्वास्थ्यमा सुधार आउनुका साथै महिलाका लागि आफ्नै आम्दानी गर्ने अवसर सिर्जना भएको छ। रासायनिक विषादी प्रयोग नगरिएका तरकारी तथा फलफूलको उपभोगले बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको उनको अनुभव छ। स्थानीय रूपमा उपलब्ध अमिलो, पिरो, तितो र टर्रो गुण भएका वनस्पतिलाई गाईको गोबरसँग मिसाएर प्राकृतिक विषादी बनाउन सकिने श्रेष्ठले बताइन्। यस्तो अभ्यासले बाहिरबाट विषादी किन्नुपर्ने खर्च घटाउनुका साथै गोठेमलको प्रयोगबाट माटोको उर्वराशक्ति सुधार गर्न सहयोग गर्ने उनको भनाइ छ। “प्राकृतिक खेतीले परिवारको स्वास्थ्य सुधारेको छ र महिलालाई आम्दानी गर्ने बाटो पनि दिएको छ,” श्रेष्ठले भनिन्, “स्थानीय स्रोत प्रयोग गर्दा खेतीको लागत घट्छ र स्थानीय अर्थतन्त्र पनि बलियो हुन्छ।” पशुधन बीमा गर्ने प्रक्रिया पर्दामा ग्रामीण नारी उत्थान संघसँग आबद्ध युवा कथाकार सरोज उपाध्यायले निर्माण गरेको ‘नेपालका महिला किसानका लागि पशुधन बीमा : संकटविरुद्धको सुरक्षा’ अर्थात् Livestock Insurance for Women Farmers in Nepal: A Shield Against Crisis चलचित्रले साना किसानका लागि पशुधन बीमाको आवश्यकता र उपयोगिता प्रस्तुत गरेको छ। चलचित्रमा पशु बिरामी हुँदा वा अचानक मर्दा किसानले व्यहोर्नुपर्ने आर्थिक क्षतिसँगै पशुधन बीमा कसरी गर्ने भन्ने प्रक्रिया पनि देखाइएको छ। उपाध्यायका अनुसार पशुधन बीमाले पशुपालनमा हुने जोखिम कम गर्छ र किसानलाई ठूलो आर्थिक क्षतिबाट जोगाउन सहयोग पुर्‍याउँछ। बीमा गरिएको पशु अचानक मरेमा प्राप्त हुने क्षतिपूर्तिबाट किसानले अर्को पशु किनेर पुनः व्यवसाय सुरु गर्न सक्ने उनले बताए। “किसानले पशुको आहार, उपचार र हेरचाहमा धेरै समय, श्रम र पैसा खर्च गरेका हुन्छन्,” उपाध्यायले भने, “रोग वा अन्य कारणले पशु मर्दा किसानको लगानी र मेहनत दुवै गुम्न सक्छ। समयमै पशुधन बीमा गरे यस्तो क्षतिबाट जोगिन सकिन्छ।” उनले पशुधन बीमालाई साना किसानको सुरक्षा कवचका रूपमा बुझ्न र समयमै पशुको बीमा गराउनुपर्ने सन्देश चलचित्रमार्फत दिएका छन्। घुम्टोदेखि नेतृत्वसम्म ग्रामीण नारी उत्थान संघसँग आबद्ध युवा कथाकार कश्मिरा विश्वकर्माले निर्माण गरेको ‘घुम्टोदेखि नेतृत्वसम्म : नेपालमा घुम्टो प्रथालाई चुनौती दिँदै महिला’ अर्थात् From Veil to Leadership: Women Challenging the Ghumto Practice in Nepal चलचित्रले घुम्टो प्रथालाई चुनौती दिँदै सामाजिक तथा सामुदायिक नेतृत्वमा अघि बढिरहेका महिलाको कथा प्रस्तुत गरेको छ। विश्वकर्माका अनुसार चलचित्र निर्माणका क्रममा घुम्टो प्रथाले महिलाको दैनिक जीवनमा सिर्जना गरेका कठिनाइ नजिकबाट हेर्ने अवसर मिलेको थियो। घुम्टोका कारण महिलालाई काम गर्न, सहज रूपमा हिँडडुल गर्न र आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्न समस्या हुने गरेको उनले बताइन्। “घुम्टोका कारण महिलालाई काम गर्न र सहज रूपमा हिँडडुल गर्न कठिन हुन्छ,” विश्वकर्माले भनिन्, “महिलाले आफ्नै परिवारसँग खुलेर कुरा गर्न, विचार राख्न र अधिकारका लागि आवाज उठाउनसमेत समस्या भोगिरहेका छन्।” चलचित्रले घुम्टो प्रथालाई पहिरनको विषयमा मात्र सीमित नगरी महिलाको आवाज, आत्मविश्वास, अधिकार र नेतृत्वसँग जोडेर प्रस्तुत गरेको छ। तीन संस्थाको सहकार्यमा भिडियोग्राफी तालिम चलचित्र प्रदर्शनसँगै एएफयूका कृषि स्नातकोत्तर तहका विद्यार्थीका लागि सञ्चालन गरिएको तीनदिने ‘अभिलेखीकरण तथा मोबाइल भिडियोग्राफी तालिम’ को सिकाइ र अनुभव पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो। तालिम ग्राउन्डस्वेल इन्टरनेसनल, कृषि तथा वन विज्ञान विश्वविद्यालय र अर्गानिक लर्निङ सेन्टरको सहकार्यमा सञ्चालन भएको हो। ग्राउन्डस्वेल इन्टरनेसनलले तालिमको आयोजना गरेको थियो भने एएफयूको कृषि संकायअन्तर्गत एग्रिबोटनी तथा संरक्षण पारिस्थितिकी विभागले शैक्षिक साझेदारको भूमिका निर्वाह गरेको थियो। अर्गानिक लर्निङ सेन्टर सहआयोजक तथा स्थलगत सिकाइ साझेदारका रूपमा सहभागी भएको थियो। तीनदिने व्यावहारिक तालिम एएफयूमा कृषि स्नातकोत्तर तहको पहिलो सेमेस्टरमा संरक्षण पारिस्थितिकीमा विशेषज्ञता हासिल गरिरहेका विद्यार्थीका लागि सञ्चालन गरिएको थियो। सम्बन्धित पाठ्यक्रमको प्रयोगात्मक सिकाइसँग जोडेर साउन ९, १० र १२ गते तालिम सञ्चालन गरिएको हो। विद्यार्थीको लिखित शैक्षिक अध्ययन, टर्म पेपर र प्रयोगात्मक कार्यलाई श्रव्यदृश्य कथासँग जोड्नु तालिमको मुख्य उद्देश्य थियो। विद्यार्थीलाई स्थानीय ज्ञान, किसानले विकास गरेका नवीन अभ्यास, कृषिपारिस्थितिकी र समुदायमा आधारित संरक्षणका विषयलाई मोबाइल भिडियोमार्फत जिम्मेवार ढंगले अभिलेखीकरण गर्ने सीप सिकाइएको थियो। तालिमको पहिलो दिन एएफयूमा विद्यार्थीले आफ्ना टर्म पेपर प्रस्तुत गरेका थिए। विद्यार्थीलाई मोबाइल क्यामेराका आधारभूत उपकरण तथा सेटिङ, फ्रेमिङ, दृश्य संयोजन र छायांकनका विधिबारे प्रशिक्षण दिइएको थियो। दोस्रो दिन अर्गानिक लर्निङ सेन्टरमा स्थलगत अभ्यास गरिएको थियो। विद्यार्थीले किसानसँग अन्तर्वार्ता लिनुका साथै ह्वाइट ब्यालेन्स, स्पष्ट ध्वनि रेकर्डिङ तथा मूल कथालाई सहयोग गर्ने अतिरिक्त दृश्य खिच्ने अभ्यास गरेका थिए। स्थलगत अभ्यासका क्रममा किसान र समुदायका सदस्यको सूचित सहमति लिने, उनीहरूका विचारलाई सम्मानपूर्वक प्रस्तुत गर्ने, उचित श्रेय दिने तथा सुरक्षित र नैतिक रूपमा अभिलेखीकरण गर्ने विषयलाई पनि प्राथमिकता दिइएको थियो। तेस्रो दिन विद्यार्थीले स्थलगत अभ्यासका क्रममा खिचेका सामग्री समीक्षा तथा सम्पादन गरी भिडियो तयार पारेका थिए। विद्यार्थीले निर्माण गरेका भिडियो प्रदर्शन गरेपछि प्रशिक्षक तथा सहभागीबाट प्राविधिक र कथागत प्रतिक्रिया दिइएको थियो। विद्यार्थीलाई अन्तर्वार्ता र सहयोगी दृश्यको क्रम मिलाउने, मोबाइलबाट आधारभूत सम्पादन गर्ने, शीर्षक तथा श्रेय राख्ने र तयार सामग्री सुरक्षित रूपमा भण्डारण गर्ने तरिका पनि सिकाइएको थियो। साउन १३ गते एएफयूमा आयोजित कार्यक्रममा विद्यार्थीले तीनदिने तालिमका क्रममा सिकेका सीप र स्थलगत अभ्यासका अनुभव सुनाएका थिए। उनीहरूले किसानसँगको अन्तर्वार्ता र अर्गानिक लर्निङ सेन्टरमा गरिएको स्थलगत अभ्यासबाट तयार पारेका भिडियोसमेत सहभागीमाझ प्रदर्शन गरेका थिए। चलचित्र प्रदर्शनी र विद्यार्थीले निर्माण गरेका भिडियोमार्फत किसानका अनुभव, स्थानीय ज्ञान र कृषि क्षेत्रमा भइरहेका परिवर्तनलाई जिम्मेवार ढंगले अभिलेख गरी विश्वविद्यालय तथा फराकिलो समुदायसम्म पुर्‍याउने प्रयास गरिएको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस

अमेरिकाले फेर्‍यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने

काठमाडौँ। अमेरिकाले आफ्नो दशकौँ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ।  अमेरिकी गृह सुरक्षा विभाग

सस्मित पोखरेलको पहलमा शिक्षकका लागि एआई लिट्रेसी तालिम सुरु

काठमाडौं ,असार २३- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष मासातो काम्दाले काठमाडौंको

शिक्षामा नविन रुपान्तरण ल्याउने उद्देश्यले चितवनमा तीन दिने राष्ट्रिय सम्मेलन गरिँदै

चितवन, जेठ २१ भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको आयोजनामा ‘दिगो भविष्यका लागि उच्च शिक्षामा नविन तथा रूपान्तरणकारी अभ्यास’ विषयक