भरतपुर अस्पतालले स्वास्थ्य बिमामार्फत एक अर्ब ५७ लाख ९७ हजार ८३२ रुपैयाँ प्राप्त गरेको छ।
भरतपुर अस्पतालले स्वास्थ्य बिमामार्फत बिरामीलाई सेवा दिएबापत एक वर्षमा एक अर्ब ५७ लाख ९७ हजार ८३२ रुपैयाँ प्राप्त गरेको छ।
अस्पताल प्रशासनका अनुसार उक्त रकम गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी भुक्तानी हो। स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सरकारी अस्पतालमध्ये सबैभन्दा धेरै बिरामीलाई सेवा दिने अस्पतालका रूपमा भरतपुर अस्पताल रहेको छ।
गत आर्थिक वर्षमा मात्रै बिमामार्फत चार लाख ९३ हजार ४४९ पटक सेवा दिइएको स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो। आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म अस्पतालले १९ लाख ७० हजार ३५२ पटक बिमामार्फत सेवा दिइसकेको छ।
यस अवधिमा अस्पतालले बिमाबापत तीन अर्ब ४८ करोड छ लाख २० हजार १६२ रुपैयाँ प्राप्त गरेको छ। अस्पतालमा आउने बिरामीमध्ये करिब ७० प्रतिशत स्वास्थ्य बिमाका रहेको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले बताउनुभयो।
बिरामीको चाप व्यवस्थापन गर्न नगद काउन्टर थप, अनलाइन टिकट, टिकटको समय विस्तार तथा शल्यक्रियाको पालो घटाउने काम भइरहेको अस्पतालले जनाएको छ।
पछिल्लो समय ओपिडीमा एकै दिन तीन हजार ७५१ बिरामी पुगेका थिए, जसमध्ये दुई हजार ९४८ जना स्वास्थ्य बिमाका थिए।














प्रतिकृया दिनुहोस