• शुक्रबार-७-२१-२०८३/ 06-Friday-2026

कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म

काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन भइरहेका छन् । संस्थापनले महाधिवेशन सम्पन्न गरिसकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी तल्लो तहका अधिवेशनहरू धमाधम गरिरहेको छ ।

२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विवादले पार्टी विभाजन भइसकेको छ । औपचारिक रूपमा विभाजनको घोषणा हुन बाँकी छ ।

Tata

Futuressoft

 

१४औँ महाधिवेशनबाट आएको केन्द्रीय समितिको सहमतिबिना तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशनको वैधानिकता, नेतृत्वको आधिकारिकता र १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर कांग्रेसभित्र दुई छन् । गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशन गर्ने र अस्वीकार गर्ने समूहबिचको विवादले कांग्रेसलाई चिरा पार्न निश्चितजस्तै छ ।

 

निर्वाचन आयोगले गत माघ २ गते र सर्वोच्च अदालतको संयुक्त इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनलाई आधिकारिकता दिने फैसला गरेका थिए । तर त्यो फैसलालाई १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले अस्वीकार गर्दै पुनरवलोकनका लागि दिएको निवेदन स्वीकृत गरेको छ ।

 

gagan-sher_laWjmpLjEW.jpg

 

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको पूर्ण इजलासले पुनरवलोकनको अनुमति दिएपछि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको कार्यसमितिले गरेको १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी भएन ।

 

यो अहिलेको विवाद भए पनि कांग्रेसको विवाद पार्टी स्थापनसँगै सुरु भएको हो । ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’बिच ००६ सालमा एकीकरण भएपछि नेपाली कांग्रेस जन्मिएको थियो । दुई पार्टी एक गरेर कांग्रेस स्थापना गर्ने मुख्य उद्देश्य राणा शासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने थियो ।

कांग्रेस स्थापनाको सुरुवात ००३ साल माघ १२ र १३ कलकत्तामा भएको अधिवेशनले ‘नेपाली राष्ट्रिय कांग्रेस’ गठन भएको दिनलाई मानिन्छ । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहसहितका नेताहरूको भेलाले जेलमा रहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई अध्यक्ष बनाएको कांग्रेससम्बन्धी दस्ताबेजहरूमा उल्लेख छ ।

अर्कोतर्फ सुवर्णशमशेर राणा, महावीर शमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाहसहितका नेताले ००५ साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेस गठन गरे । त्यसको उद्देश्य राणा शासनविरुद्ध सशस्त्र संघर्ष गर्ने थियो ।

दुवै पार्टीबिच भारतको कोलकातास्थित चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा ००६ साल चैत २७ गते एकीकरण भएर नेपाली कांग्रेस बनेको थियो । कांग्रेसका दस्ताबेजहरूमा उल्लेख भएअनुसार दुई पार्टीबिच एकता गराउन भारतीय समाजवादी दल र भारतीय कांग्रेसको सहयोग गरेका थिए ।

इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस–१’ पुस्तकमा दुई पार्टीबिच एकीकरण भएपछि गठित नेपाली कांग्रेसको सभापतिमा नेपाली राष्ट्रिय कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला र महामन्त्रीमा नेपाली प्रजातन्त्र कांग्रेसका सभापति महेन्द्रविक्रम शाहलाई चयन गरिएको उल्लेख गरेका छन् ।

यस सन्दर्भमा ‘नेपाल टुडे’ नामक पत्रिकामा वीपीको वक्तव्य पनि छापिएको छ । सन् १९४७ को सेप्टेम्बरमा प्रकाशित वक्तव्यमा लेखिएको छ, ‘स्वार्थी राणाहरूबाट सुधारको आशा गर्नु ‘थारी गाईबाट दूध पाउने आशा गर्नु’ समान हुनेछ । त्यसैले नेपालीले पापबाट मुक्त हुन सम्झौताको विचारमा नलागी संघर्षतर्फ नै अग्रसर हुनुपर्दछ ।’ त्यो बेला बनेको नेपाली कांग्रेस अहिलेसम्म अस्तित्वमा छ ।

  • २००९ मा पहिलो विभाजन

नेपाली कांग्रेस बनेको ३ वर्षमा कांग्रेस पहिलो पटक विभाजन भयो । पार्टीभित्र नेतृत्व र सरकार सञ्चालनको विषयलाई लिएर बीपी कोइराला र तत्कालीन प्रधानमन्त्री तथा पूर्वसभापति मातृकाप्रसाद कोइरालाबिच उत्पन्न दरार फुटसम्म पुग्यो ।

bp-matrika

२००७ सालमा प्रजातन्त्र आएपछि उत्पन्न दरार मत्थर गर्न ००९ भदौ १५ गते महासमिति बैठक बोलाइयो । त्यो बैठकले अप्रिय निर्णय लियो । बैठकले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र उनको सरकारका केही मन्त्रीलाई तीन वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदन गरेको लेखक पुरुषोत्तम बस्नेतले आफ्नो पुस्तक नेपाली कांग्रेसको इतिहासको प्रारुपमा लेखेका छन् ।

बस्नेतले पुस्तकमा त्यो बेला कांग्रेसका महासमिति सदस्य १६३ जना रहेका र बैठकमा १४९ सहभागी उल्लेख गरेका छन् । मातृकालाई कारबाही गर्ने कि नगर्ने भन्ने विवाद भएपछि बैठकमा मतदान हुँदा १५ जनाले बैठक बहिस्कार गरेको, १३४ जनाले मतदान गरेको पनि पुस्तकमा उल्लेख छ ।

कारबाहीको पक्षमा ११८ जना, विपक्षमा ७ जना र ९ जना तटस्थ बसेपछि कारबाही सदर भयो । त्यसपछि पार्टीबाट अलग्गिएर मातृकाप्रसादले ००९ भदौ २१ गते आफू संयोजक र महेन्द्रविक्रम शाह महामन्त्री रहेको ‘नेपाली कांग्रेस तदर्थ समिति’ गठन गरी काठमाडौँमा छुट्टै कार्यालय खोलेर आफ्ना गतिविधि सञ्चालन गर्न सुरु गरे ।

२००९ फागुन २ र ३ गते काठमाडौँमा बसेको तदर्थ समितिको बैठकले ०१० साल वैशाख १५ गते वीरगञ्जमा छुट्टै सम्मेलन गर्ने निर्णय गर्‍यो । सम्मेलनले नेपाली कांग्रेसबाट विधिवत् अलग भएर ‘राष्ट्रिय प्रजा पार्टी’ नामक छुट्टै पार्टी गठन गर्ने निर्णय गरेको पनि बस्नेतले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।

  • २०५९ मा दोस्रो विभाजन

त्यसपछि लामो समय कांग्रेसमा गुटउपगुट भए पनि विभाजन भएन । तर ०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सभापति गिरिजाप्रसाद कोइरालाबिच टकराब सुरु भयो ।

तत्कालीन माओवादी द्वन्द्व, संकटकाल, प्रतिनिधि सभा विघटन, मध्यावधि निर्वाचनलगायत विषयमा देखिएको विवाद चर्किएपछि देउवा नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्‍यो । त्यसपछि पार्टीको निर्देशनविपरीत प्रतिनिधि सभा विघटन गरिएको भन्दै कांग्रेसले प्रधानमन्त्री देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्‍यो ।

girija-sher

माओवादीको हिंसा दिनप्रतिदिन बढ्दै गइरहेको थियो । हिंसा असाध्यै बढेपछि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ०५९ साल जेठ २ गते त्यही सालको मंसिर ११ गते घोषणा गरिएको संकटकाल थप ६ महिना लम्ब्याउने निर्णय लियो । संकटकाल घोषणा गर्दा पार्टीमा छलफल नगेको भन्दै प्रधानमन्त्री देउवालाई महामन्त्री सुशीलले प्रश्न सोधेर चिठी लेखे ।

त्यसको ६ दिनपछि जेठ ८ गते कांग्रेसले प्रधानमन्त्री देउवालाई साधारण सदस्यबाटै निकाल्दियो । साधारण सदस्य नरहने गरी हटाइदिएपछि देउवा असाध्यै रिसाएर संकटकाल लागु नै गरिराखे । त्यसबेला ज्ञानेन्द्र राजा थिए । देउवा ज्ञानेन्द्र कहाँ गएर संसद् विघटन गरेर कात्तिकमा मध्यावधि निर्वाचन घोषणा गर्दिए ।

पार्टीमा देउवाको कारबाही फिर्ता गराउने प्रयास उनीपक्षीय नेताहरूले जारी राखे । त्यो प्रयास असफल भएपछि देउवापक्षीय नेताहरूले त्यही वर्ष असार ४ मा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा महाधिवेशन प्रतिनिधिहरूको भेला गरे । त्यस भेलाले सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गर्‍यो । तर, पछि अदालतमा मुद्दा पर्‍यो अदालतले कोइरालालाई आधिकारिकता दिएपछि देउवा नेतृत्वको पार्टीको नाम नेपाली कांग्रेस (प्रजातान्त्रिक) भयो ।

तर, पछिल्लो विभाजन लामो समय रहेन । ०६४ सालको असोज ८ गते इन्द्रजात्राको दिन संस्थापनले ६० प्रतिशत, देउवा नेतृत्वको पार्टीले ४० प्रतिशत दिएर गिरिजाप्रसाद कोइरालाले पार्टी एकीकरण गरे ।

त्यहीबाट मूल कांग्रेसमा फर्किएका देउवा कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट दुई कार्यकाल सभापति निर्वाचित भए ।

२०७८ मा १४ औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापति बनेका देउवाको कार्यकाल भने पूरा हुन पाएन । ०८२ को भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा मरणासन्न हुने गरी कुटिए ।

त्यसैको रापतापमा केन्द्रीय समितिको सहिमतिबिना तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गत पुस अन्तिम साता विशेष महाधिवेशन गरे । त्यो महाधिवेशनलाई माघ २ गते निर्वाचन आयोग र वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले आधिकारिकता दियो । त्यसविरुद्ध देउवा सर्वोच्चको पूर्ण इजलासमा पुगेपछि निस्सा पाएका छन्, त्यो अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।ratopati

प्रतिकृया दिनुहोस

छठपछि आन्दोलन चर्काउने तयारी

काठमाडौँ। छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्ने तयारी थालेका छन्। सरकार विरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि, यस्ता छन् कार्यक्रम

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । दिउँसो २ः३० बजे पार्टी केन्द्रीय

गड्डाचौकी नाका हुँदै भारत लागे रास्वपा सभापति लामिछाने

६ कात्तिक, कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणका लागि शुक्रबार पश्चिमी सीमानाका गड्डाचौकी हुँदै