कांग्रेसको विभाजन यात्रा : २००९ देखि ०८२ सालसम्म
काठमाडौँ । नेपाली कांग्रेसमा समानान्तर महाधिवेशन भइरहेका छन् । संस्थापनले महाधिवेशन सम्पन्न गरिसकेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने गरी तल्लो तहका अधिवेशनहरू धमाधम गरिरहेको छ ।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको विवादले पार्टी विभाजन भइसकेको छ । औपचारिक रूपमा विभाजनको घोषणा हुन बाँकी छ ।
१४औँ महाधिवेशनबाट आएको केन्द्रीय समितिको सहमतिबिना तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशनको वैधानिकता, नेतृत्वको आधिकारिकता र १५औँ महाधिवेशनको प्रक्रियालाई लिएर कांग्रेसभित्र दुई छन् । गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशन गर्ने र अस्वीकार गर्ने समूहबिचको विवादले कांग्रेसलाई चिरा पार्न निश्चितजस्तै छ ।
निर्वाचन आयोगले गत माघ २ गते र सर्वोच्च अदालतको संयुक्त इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनलाई आधिकारिकता दिने फैसला गरेका थिए । तर त्यो फैसलालाई १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले अस्वीकार गर्दै पुनरवलोकनका लागि दिएको निवेदन स्वीकृत गरेको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको पूर्ण इजलासले पुनरवलोकनको अनुमति दिएपछि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको कार्यसमितिले गरेको १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी भएन ।
यो अहिलेको विवाद भए पनि कांग्रेसको विवाद पार्टी स्थापनसँगै सुरु भएको हो । ‘नेपाली राष्ट्रिय कांग्रेस’ र ‘नेपाल प्रजातन्त्र कांग्रेस’बिच ००६ सालमा एकीकरण भएपछि नेपाली कांग्रेस जन्मिएको थियो । दुई पार्टी एक गरेर कांग्रेस स्थापना गर्ने मुख्य उद्देश्य राणा शासनको अन्त्य र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने थियो ।
कांग्रेस स्थापनाको सुरुवात ००३ साल माघ १२ र १३ कलकत्तामा भएको अधिवेशनले ‘नेपाली राष्ट्रिय कांग्रेस’ गठन भएको दिनलाई मानिन्छ । विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहसहितका नेताहरूको भेलाले जेलमा रहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई अध्यक्ष बनाएको कांग्रेससम्बन्धी दस्ताबेजहरूमा उल्लेख छ ।
अर्कोतर्फ सुवर्णशमशेर राणा, महावीर शमशेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाहसहितका नेताले ००५ साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेस गठन गरे । त्यसको उद्देश्य राणा शासनविरुद्ध सशस्त्र संघर्ष गर्ने थियो ।
दुवै पार्टीबिच भारतको कोलकातास्थित चौरंगीमा रहेको महावीर शमशेरको टाइगर सिनेमा हलमा ००६ साल चैत २७ गते एकीकरण भएर नेपाली कांग्रेस बनेको थियो । कांग्रेसका दस्ताबेजहरूमा उल्लेख भएअनुसार दुई पार्टीबिच एकता गराउन भारतीय समाजवादी दल र भारतीय कांग्रेसको सहयोग गरेका थिए ।
इतिहासकार डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस–१’ पुस्तकमा दुई पार्टीबिच एकीकरण भएपछि गठित नेपाली कांग्रेसको सभापतिमा नेपाली राष्ट्रिय कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला र महामन्त्रीमा नेपाली प्रजातन्त्र कांग्रेसका सभापति महेन्द्रविक्रम शाहलाई चयन गरिएको उल्लेख गरेका छन् ।
यस सन्दर्भमा ‘नेपाल टुडे’ नामक पत्रिकामा वीपीको वक्तव्य पनि छापिएको छ । सन् १९४७ को सेप्टेम्बरमा प्रकाशित वक्तव्यमा लेखिएको छ, ‘स्वार्थी राणाहरूबाट सुधारको आशा गर्नु ‘थारी गाईबाट दूध पाउने आशा गर्नु’ समान हुनेछ । त्यसैले नेपालीले पापबाट मुक्त हुन सम्झौताको विचारमा नलागी संघर्षतर्फ नै अग्रसर हुनुपर्दछ ।’ त्यो बेला बनेको नेपाली कांग्रेस अहिलेसम्म अस्तित्वमा छ ।
- २००९ मा पहिलो विभाजन
नेपाली कांग्रेस बनेको ३ वर्षमा कांग्रेस पहिलो पटक विभाजन भयो । पार्टीभित्र नेतृत्व र सरकार सञ्चालनको विषयलाई लिएर बीपी कोइराला र तत्कालीन प्रधानमन्त्री तथा पूर्वसभापति मातृकाप्रसाद कोइरालाबिच उत्पन्न दरार फुटसम्म पुग्यो ।

२००७ सालमा प्रजातन्त्र आएपछि उत्पन्न दरार मत्थर गर्न ००९ भदौ १५ गते महासमिति बैठक बोलाइयो । त्यो बैठकले अप्रिय निर्णय लियो । बैठकले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र उनको सरकारका केही मन्त्रीलाई तीन वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदन गरेको लेखक पुरुषोत्तम बस्नेतले आफ्नो पुस्तक नेपाली कांग्रेसको इतिहासको प्रारुपमा लेखेका छन् ।
बस्नेतले पुस्तकमा त्यो बेला कांग्रेसका महासमिति सदस्य १६३ जना रहेका र बैठकमा १४९ सहभागी उल्लेख गरेका छन् । मातृकालाई कारबाही गर्ने कि नगर्ने भन्ने विवाद भएपछि बैठकमा मतदान हुँदा १५ जनाले बैठक बहिस्कार गरेको, १३४ जनाले मतदान गरेको पनि पुस्तकमा उल्लेख छ ।
कारबाहीको पक्षमा ११८ जना, विपक्षमा ७ जना र ९ जना तटस्थ बसेपछि कारबाही सदर भयो । त्यसपछि पार्टीबाट अलग्गिएर मातृकाप्रसादले ००९ भदौ २१ गते आफू संयोजक र महेन्द्रविक्रम शाह महामन्त्री रहेको ‘नेपाली कांग्रेस तदर्थ समिति’ गठन गरी काठमाडौँमा छुट्टै कार्यालय खोलेर आफ्ना गतिविधि सञ्चालन गर्न सुरु गरे ।
२००९ फागुन २ र ३ गते काठमाडौँमा बसेको तदर्थ समितिको बैठकले ०१० साल वैशाख १५ गते वीरगञ्जमा छुट्टै सम्मेलन गर्ने निर्णय गर्यो । सम्मेलनले नेपाली कांग्रेसबाट विधिवत् अलग भएर ‘राष्ट्रिय प्रजा पार्टी’ नामक छुट्टै पार्टी गठन गर्ने निर्णय गरेको पनि बस्नेतले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
- २०५९ मा दोस्रो विभाजन
त्यसपछि लामो समय कांग्रेसमा गुटउपगुट भए पनि विभाजन भएन । तर ०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र सभापति गिरिजाप्रसाद कोइरालाबिच टकराब सुरु भयो ।
तत्कालीन माओवादी द्वन्द्व, संकटकाल, प्रतिनिधि सभा विघटन, मध्यावधि निर्वाचनलगायत विषयमा देखिएको विवाद चर्किएपछि देउवा नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्यो । त्यसपछि पार्टीको निर्देशनविपरीत प्रतिनिधि सभा विघटन गरिएको भन्दै कांग्रेसले प्रधानमन्त्री देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्यो ।

माओवादीको हिंसा दिनप्रतिदिन बढ्दै गइरहेको थियो । हिंसा असाध्यै बढेपछि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ०५९ साल जेठ २ गते त्यही सालको मंसिर ११ गते घोषणा गरिएको संकटकाल थप ६ महिना लम्ब्याउने निर्णय लियो । संकटकाल घोषणा गर्दा पार्टीमा छलफल नगेको भन्दै प्रधानमन्त्री देउवालाई महामन्त्री सुशीलले प्रश्न सोधेर चिठी लेखे ।
त्यसको ६ दिनपछि जेठ ८ गते कांग्रेसले प्रधानमन्त्री देउवालाई साधारण सदस्यबाटै निकाल्दियो । साधारण सदस्य नरहने गरी हटाइदिएपछि देउवा असाध्यै रिसाएर संकटकाल लागु नै गरिराखे । त्यसबेला ज्ञानेन्द्र राजा थिए । देउवा ज्ञानेन्द्र कहाँ गएर संसद् विघटन गरेर कात्तिकमा मध्यावधि निर्वाचन घोषणा गर्दिए ।
पार्टीमा देउवाको कारबाही फिर्ता गराउने प्रयास उनीपक्षीय नेताहरूले जारी राखे । त्यो प्रयास असफल भएपछि देउवापक्षीय नेताहरूले त्यही वर्ष असार ४ मा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा महाधिवेशन प्रतिनिधिहरूको भेला गरे । त्यस भेलाले सभापति कोइरालालाई निष्कासन गर्दै देउवालाई सभापति घोषणा गर्यो । तर, पछि अदालतमा मुद्दा पर्यो अदालतले कोइरालालाई आधिकारिकता दिएपछि देउवा नेतृत्वको पार्टीको नाम नेपाली कांग्रेस (प्रजातान्त्रिक) भयो ।
तर, पछिल्लो विभाजन लामो समय रहेन । ०६४ सालको असोज ८ गते इन्द्रजात्राको दिन संस्थापनले ६० प्रतिशत, देउवा नेतृत्वको पार्टीले ४० प्रतिशत दिएर गिरिजाप्रसाद कोइरालाले पार्टी एकीकरण गरे ।
त्यहीबाट मूल कांग्रेसमा फर्किएका देउवा कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट दुई कार्यकाल सभापति निर्वाचित भए ।
२०७८ मा १४ औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापति बनेका देउवाको कार्यकाल भने पूरा हुन पाएन । ०८२ को भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवा मरणासन्न हुने गरी कुटिए ।
त्यसैको रापतापमा केन्द्रीय समितिको सहिमतिबिना तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गत पुस अन्तिम साता विशेष महाधिवेशन गरे । त्यो महाधिवेशनलाई माघ २ गते निर्वाचन आयोग र वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले आधिकारिकता दियो । त्यसविरुद्ध देउवा सर्वोच्चको पूर्ण इजलासमा पुगेपछि निस्सा पाएका छन्, त्यो अहिले पनि सर्वोच्चमा विचाराधीन छ ।ratopati












प्रतिकृया दिनुहोस