• शुक्रबार-४-२९-२०८३/ 14-Friday-2026

बझाङमा ‘नोस्टाल्जिक’

 

बाउलीसँग आँखा जुधेपछि
बाउलीसँग २३ वर्षपछि मेरा आँखा जुध्दा अनायस मनमा एउटा निकटताको भाव विकसित भएको अनुभव भयो । बाउली गाड अर्थात् बझाङको सदरमुकाम चैनपुरको चिनारी र जीवनसँग जोडिएको खोला । समग्र सुदूरपश्चिमसँग नै मेरो भावनात्मक निकटताको सम्बन्ध छ । म मधेशको मानिस तर सुदूरपश्चिम मलाई दोस्रो घरजस्तै लाग्छ । निकै अपनत्वको बोध हुन्छ । 

 

 

मैले आफ्नो बाल्य र युवाकालका धेरै महत्वपूर्ण समय यस प्रदेशमा बिताएको छु । सायद मेरो सबैभन्दा महत्वपूर्ण बाल्यकाल यसै प्रदेशमा बितेको हो भन्दा अस्वभाविक हुँदैन । सुदूरपश्चिमका दुई जिल्ला दार्चुला र बझाङ मेरा लागि निकै खास छन् । दार्चुलामा मैले बाल्यकालमा विद्यालय अध्ययन गरेको हुँ भने युवावस्थाको प्रवेशसँगै चैनपुरमा मैले मेरा केही महत्वपूर्ण समय व्यतित गरेको छु । मेरो स्नातकोत्तर अध्ययनका क्रममा विसं २०४९ तिर मैले चैनपुरमा ‘भिलेज प्रोफाइल’ तयार गरेको हुँ–चैनपुरको भाँगोः सामाजिक र आर्थिक महत्व ।  

मेरा पिताजी (राजेन्द्र झा) २०४८–४९ तिर यस जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यसबेला पटक पटक गरेर चार–पाँच  पटक मैले चैनपुरको यात्रा गरेको मलाई सम्झना छ । मैले यस जिल्लामा केही समय बिताएको सम्झना मेरा लागि निकै महत्वपूर्ण छ । त्यसबेला यातायातका लागि हवाई सेवामात्र उपलब्ध रहेको बझाङ निकै नै सुदूर र विकट थियो । 

यहाँ आउनु हामीजस्ता तराईवासीका लागि उदाहरणीय कार्य नै मानिन्थ्यो । तर हिमाली जिल्ला भनेर चिनिने बझाङको सदरमुकाम चैनपुर आइपुग्दा भने यहाँको वातावरण र जलवायुले लोभ्याउने गरेको त्यसबेलाको मेरो अनुभूति छ । अहिले त यो सानो भूगोलमा घरको भीड देख्दा त्यसबेला भविष्यमा यो ठाउँ यस्तो बन्ने होला भनेर कल्पना गर्न पनि कठिन रहेको म सम्झन्छु । 

इतिहासमा बझाङ राज्य
नेपालको इतिहासमा बझाङ राज्यको अस्तित्व धेरै पछिसम्म कायम रहेको पाइन्छ । सम्भवतः नेपाल राज्यमा सबैभन्दा पछि एकीकृत भएको बाईसे चौबीसे राज्यमध्ये बझाङ पनि हो । तात्कालीन बझाङी राजाहरुका अनुसार उनीहरुको राज्य र राजपरम्परा गोर्खाका शाहवंशीय परम्पराभन्दा पनि पुरानो हो । यही मान्यताका आधारमा विगतमा बझाङले नेपालभित्र एकीकृत भएर रहन अस्वीकार गरेको इतिहास पाइन्छ । 

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा राज्य–रजौटा उन्मुलन ऐन लागू गरे । यो ऐनलाई स्वीकार गर्न बझाङका अन्तिम राजा रामजंगबहादुर सिंहले आनाकानी गरेको सन्दर्भ चर्चामा छ । भारतको पिथौरागढमा रहेर उनले छोरा (युवराज) ओमजंगबहादुर सिंहमार्फत नेपालविरुद्ध विद्रोह गर्ने रणनीति बनाएको भन्ने एकथरि इतिहास छ । 

राजा महेन्द्र नेतृत्वको तात्कालीन नेपाल सरकारले २०१८ भदौमा उक्त विद्रोह सैनिक कार्यवाहीमार्फत दमन गर्ने निर्णय गरेको इतिहासकारहरुले चर्चा गर्ने गरेका छन् । इतिहासमा निकै शक्तिशाली मानिने तिनै बझाङी राजाहरुको दरवार भएको घरलाई निवासका रुपमा प्रयोग गर्न पाउने अवसर र अनुभव मेरालागि अविस्मरणीय तथा महत्वपूर्ण छ । त्यसबेला जिल्ला प्रशासन कार्यालय (जिप्रका) र हाम्रो निवास यही दरवारमा रहेको मेरो सम्झनामा अझै ताजा छ । 
 
बझाङी राज्य र राजपरिवारको जबजब चर्चा हुने गर्दछ जयपृथ्वीवहादुर सिंहको नाम स्वभाविकरुपमा अगाडि आउने गर्दछ । मानवतावादी व्यक्तिका रुपमा बडो आदरपूर्वक उनको नाम लिने गरिन्छ । आजको गोरखापत्रको स्थापनामा निर्णयक भूमिका रहेको सिंह जनता शिक्षित तथा सुसूचित हुनुपर्छ भन्ने मान्यता राख्दथे । 

गोरखापत्रले गत वैशाख २४ गते बुधबार आफ्नो एक सय २५ औं वार्षिकोत्सव मनाएको छ । नेपाल सरकारले पछिल्लो समयमा गोरखापत्र स्थापनाको दिनलाई सम्झँदै राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरेको छ । समग्रमा आज हामीले नेपालमा अनुभव गरिरहेको पत्रकारिता विकासको अध्ययन गर्र्ने हो भने जगको ढुंगामा कतै न कतै सिंहको उपस्थिति अनुभूत गर्न सकिन्छ ।   

तुलनात्मक अध्ययनको अवसर
२०४९ सालमा मेरा पिताजीको त्यहाँबाट सरुवा भएपछि २३ वर्षपछि म पहिलोपटक २०७२ को असारको पहिलो साता र दोस्रो पटक २०७५ को जेठमा चैनपुर पुगेँ । २३ वर्षपछि चैनपुरको धर्ती टेक्दा म कति भावुक थिएँ भन्ने कुराको शाव्दिक अभिव्यक्ति मेरालागि असम्भव छ । 

विमानस्थल नजिक सेतीमा मिसिने बाउलीलाई देख्नेबित्तिकै, विगतको चैनपुर बसाईताकाका स्मृतिहरु कुनै सिनेमाको दृश्यजस्तै एक–एक गरी मेरा आँखाका सामुन्ने आउन थालेका थिए । चैनपुरको गल्लीगल्ली थाहा पाउँछु भन्ने आंगिक बुझाईका आधारमा पछिल्लोपटक म यहाँ आइपुगेको थिएँ । प्रत्येक घर परिचित लाग्ने मलाई यहाँका प्रत्येक व्यक्तिको अनुहार चिनेजानेजस्तो लाग्नु अस्वभाविक होइन । 

मलाई लाग्यो, मैले चैनपुर टेक्नेबित्तिकै यहाँका स्मृति–मित्रहरुले मलाई देख्नेबित्तिकै आलिंगनमा कस्नेछन् र सोध्नेछन्– यति लामो समयपछि किन ? कहाँ गएका थियौ तिमी ? मैले बिर्सें कि २३ वर्षमा धेरै कुरामा परिवर्तन आइसकेको छ । यहाँको समाज बदलिसकेको छ । मलाई आलिंगन गर्ने सम्भावनाहरु अब पुरानो अवस्थामा छैनन् । मलाई प्रश्न गर्नेहरु पनि त पुरानै अवस्थामा नरहेका हुन सक्छन् नि ।     

विगतमा म पिताजीका कारणले त्यहाँ पुगेको थिएँ भने पछिल्लो दुबैपटक म आफ्नै पेशागत प्रयोजनका कारण पुगेको थिएँ । अनुभूति निश्चय पनि पृथक थियो । गज्जब थियो । मलाई उहिले र अहिले दुवै समयका बीचमा तुलनात्मक अध्ययन गर्ने अवसर उपलब्ध भएको थियो । यस दृष्टिले म मेरा पछिल्ला दुवै भ्रमण उपलब्धिमूलक होस् भन्ने चाहन्थे, स्मरणीय बनाउन चाहन्थे र त्यसका लागि मैले विविध प्रयास पनि गरेँ ।  
 
२०७२ मा चैनपुर पुग्दा विगतको तुलनामा निकै नै परिवर्तन भएको अनुभव सँगालेको थिएँ । दोस्रोपटक जाँदा पनि परिवर्तन त भएको देखियो तर सामान्य । मेरा पछिल्ला दुबै भ्रमणको निस्कर्ष थियो–विगतको तुलनामा चैनपुर वजारमा निकै परिवर्तन आएको यियो । सडक सञ्चालनमा आइसकेका हुनाले बाँकी जिल्लाको अवस्थामा पनि परिवर्तन आउनु स्वभाविक थियो । 

सारमा भन्नुपर्दा तुलनात्मक रुपमा बझाङ अब विकट नरहेको मेरो बुझाइ थियो । विगतको चैनपुर गाउँ विकास समिति अहिले जयपृथ्वीवहादुर नगरपालिकामा परिणत भएको रहेछ । एउटा कुरा महत्वपूर्ण थियो – सडक सञ्जालमार्फत जोडिएको चैनपुरमा अहिले हवाई सेवा भने अवरुद्ध थियो । 

स्थानीयका अनुसार सशस्त्र द्वन्द्वको समयमा प्रभावित हुन पुगेको यहाँको विमानस्थल धेरै समयसम्म अवरुद्ध रह्यो । पछि २०७५ असोजबाट सञ्चालनमा आए पनि धेरै दिनसम्म यसले निरन्तरता भने पाउन सकेन । वर्तमानमा यो विमानस्थल पुनः बन्द छ । पछिल्लो दुवैपटक म गाडीबाटै चैनपुर पुगेको थिएँ । 

पहिलोपटक पत्रकारत्रय डीआर पन्त, मीन बम र श्रवण देउवासँग र दोस्रोपटक मनमोहन स्वाँरसँग । पहिलोपटक यहाँको सम्पूर्ण व्यवस्थापन पत्रकार जगत खड्काले गरेका थिए भने दोस्रो पटकको व्यवस्थापन मनमोहनजीको संयोजनमा रमानन्द जोशीले गरेका थिए । 

दरबारको म सुत्ने कोठा र स्मृतिको आगमन 
दुबैपटक यहाँ आउँदा बाटो उही थियो –खोडपेबाट सुनकुडा हुँदै बाउली गाड (खोला) पारी डाँँडा मुन्तिरको बाटो हुदै वारी चैनपुर वजारमा प्रवेश । पहिलोपटक अर्थात्  २०७२ मा यहाँ आउँदा बाउली गाड वारिबाट पारिको जिप्रका अर्थात् बझाङी राजाहरुको पुरानो दरबार देख्नेबित्तिकै म ‘नोस्टालजिक’ हुँदै एकछिन विगतमा फर्किएको थिएँ । 

हाम्रो गाडी जति जति अगाडि बढिरहेको थियो मेरो स्मृति पनि त्यति नै घनिभूत भइरहेको थियो । मैले बाउलीलाई देखेर त्यसबेला दरबारको माथिल्लो तल्लाको पछाडीपट्टीको कोठा, जसको झ्याल बाउली गाडतर्फ खुल्थ्यो, म बस्ने सुत्ने गरेको सम्झिएँ । त्यसबेलाको बाउलीको सुसाहटको अनुभूति अहिले एकाएक ताजा हुन पुगेजस्तो लाग्यो । 

संयोग कस्तो पर्यो भने जिल्ला प्रहरी कार्यालयको परिसरको छेउँबाट विकसित गरिएको सडकबाट थोरै अगाडि बढेपछि हामी बस्ने होटेल आइपुगेको थियो । होटेलको पछाडिको कोठाको झ्यालबाट जिल्ला प्रशासन कार्यालय अर्थात् दरबार पूरै देखिँदो रहेछ । मैले विगतमा यहाँ रहँदा दरबार परिसरको मन्दिर, छेउँछाउँका घर, करेसाबारी, कार्यालयमा कार्यरत मसँग अत्यन्तै मिल्ने गोरखजी र जयबहादुरजी आदि आदि अनेक–अनेक कुरा सम्झिएँ । 

बाउलीले क्रमशः कटान गर्दै लगेको दरबार परिसरको चित्र पनि मेरो मानसपटलमा ताजा हुन पुगेको थियो । अहिले त्यस परिसरमा नयाँ भवन बनेको रहेछ र कार्यालय त्यहीँ सारिएको रहेछ । पहिला कार्यालय र प्रजिअको निवास दरबारमै थियो । त्यसबखत रात्रिविश्राम पत्रकार जगत्ले व्यवस्था गरेकै स्थानमा भएको थियो । 

एक रात बिताएको म सम्झन्छु । रातिको समयमा एउटा महत्वपूर्ण परिवर्तनको अनुभूति भयो–विगतमा विद्युतको अभावमा खासै उज्यालो नदेखिने चैनपुर बिजुलीको रंगीन उज्यालोमा नुहाएको पाएँ मैले । सेती नदीले लामो भूगोल छोएको यो जिल्ला जलस्रोत र जलविद्युतको विकासका लागि त्यतिवेलै निकै सम्भावनायुक्त मानिन्थ्यो । अहिलेसम्म यस जिल्लामा कति जलविद्युत उत्पादन हुन सक्यो, त्यसको अध्ययन मैले गरेको छैन । 

 

 

 

त्यतिमात्रै होइन अहिले मैले यहाँका मानिसको हातहातमा मोबाइल देखेँ । विगतमा चैनपुर त्यही ठाउँ थियो जहाँ बजारमा एक लाइन भिस्याट फोन थियो । यो फोन प्रयोग गर्न लाइनमा घण्टौँ कुर्नुपथ्र्यो । कुर्ने अनुभव मैले पनि सँगालेको छु । यस दृष्टिले मैले ४९ सालमा छोडेर गएको चैनपुरमा २३ वर्षपछि देखेको विकासलाई अविश्सनीय र अतुलनीय नै मान्नुपर्ने थियो र मैले सहर्ष यो कुरा स्वीकार गरेँ ।  
  
बाउलीदेखि सेती किनारसम्म
भोलिपल्ट बिहान हामी बजार घुम्न हिँडेका थियौँ । बिहानै होटेल आइपुगेका जगतसँग म, डीआर, मीन, र श्रवण बजारतिर लाग्यौँ । चैनपुरको मूल बजार क्षेत्र भनेको बाउलीदेखि सेती किनारसम्मको करिव तीन–चार सय मिटर र जिप्रका चौकदेखि सुर्मादेवीको मन्दिर हुँदै बाउलीमाथिको झोलुङ्गे पुलसम्मको करिव चार–पाँच सय मिटरमा फैलिएको बजार क्षेत्र हो । 

बजार घुम्दा साथीहरुले के हेरिरहेका थिए के गमिरहेका थिए त्यो त थाहा भएन तर मैले चाहिँ पुराना कुरा सम्झँदै विगत र वर्तमानबीच तुलनाको प्रयास गरिरहेको थिएँ । वजारको कूल लम्बाई चौडाईमा कुनै परिवर्तन नआए पनि घर र पसलको स्वरुप र संख्यामा भने परिवर्तनको अनुभव गरें मैले । पहिला पुराना शैलीका कच्ची घरको संख्या अधिक थियो भने अहिले आधुनिक पक्की घरको संख्या बढेको छ । 

 

 

बजारमा ढलान बाटोले आफ्नो दूरी लम्ब्याइरहेको छ । निष्कर्षमा भन्ने हो भने चैनपुर बजार प्राकृतिक मौलिकताको चोला त्यागेर कंक्रिटको खोल ओढ्न हतारिएको जस्तो लाग्यो । हामीले एकैछिनमा बजार घुमिसकेका थियौँ । 

त्यसै क्रममा सुर्मादेवीको दर्शन पनि गर्यौँ । सुदूरपश्चिमको सात दिदीबहिनी देवीमध्येकी सुर्मादेवीको यो मन्दिरमा पनि परिवर्तन आइसकेको रहेछ । विगतमा यहाँ रहँदा हाम्रो परिवारका लागि सुर्मादेवी स्थान निकै महत्वपूर्ण थियो ।   

चैनपुरसँग मेरा थुप्रै स्मृति जोडिएका छन् । विमानस्थलबाट पैदल यात्रा गर्दै बाउलीमाथिको झोलुङ्गे पुल तरेर चैनपुर बजार प्रवेशको अनुभूति हिजोजस्तो लाग्छ । नेपाली कांग्रेसका नेताहरु सुरेश मल्ल, नरेशवहादुर सिंह, चेतराज वजाल, सत्यराज भण्डारी, तात्कालीन एमालेका नेता भानुभक्त जैशी आदिसँग भेटघाट र सान्निध्य मेरा लागि महत्वपूर्ण छन् । 

चेतराजजी (जो त्यसवखत जिल्ला विकास समितिका सभापति थिए) सँग पछि काठमाडौँमा पनि एक–दुईपटक भेट भएको सम्झन्छु । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई पहिलोपटक मैले यहीँ देखेको हुँ । यहीँ भेटेको हुँ । देउवाले त्यसवेला गृहमन्त्रीका हैसियतले बझाङको भ्रमण गर्दा म त्यहीँ थिएँ र देउवाले आफ्नो केही समय जिप्रकामा बिताउँदा मैले पहिलोपटक उनीसँग कुरा गर्ने अवसर पाएको थिएँ । 

सम्झना अर्को पनि छ, मेरा पिताजीले आफ्नै खर्चमा यहाँ पहिलोपटक पानको पसल सञ्चालन गर्न लगाएको, यस्तै चैनपुरमा पहिलोपटक काउली फलाएको र चाडपर्वका दिन वादी समुदायका केही व्यक्ति जिप्रकामा रहेको सानो मन्दिरको अगाडि आएर नाचगान गर्ने पुरानो प्रचलनको अन्त्य गरेको दावी मेरा पिताजीको छ । 

त्यो सानो मन्दिरमा नियमित पूजाको व्यवस्था पनि मेरा पिताजीको समयमा नै भएको हो । अहिले यी सबैको अवस्था के छ ? त्यसको जानकारी मलाई छैन । म अझै नोस्टालजिक हुन चाहन्नथे । अब समयले घचेट्दै लगेको थियो । खाना खाएर हामीले फिर्ती यात्राका लागि प्रस्थान गर्नु थियो । 

बाउली र सेतीको कटानको मारमा चैनपुर टापु
दोस्रोपटक म फेरि यहाँ करिब तीन वर्षपछि आएको थिएँ । बाटो उही पुरानो थियो । तर यसपटकको वासस्थान फरक थियो । सुर्मादेवी मन्दिरको ठीक सामुन्नेको होटेलमा हामी बसेका थियौँ । यसपटक पनि चैनपुरको बसाई मात्र एक रातको थियो । 

पुराना स्मृति मानसपटलमा आउनु स्वभाविक थियो । झट्ट हेर्दा चैनपुरको अवस्थिति उस्तै लाग्यो । बाउली गाड र सेती नदीबीचमा एक प्रकारले टापुका रुपमा रहेको चैनपुरको भूगोलको हिजोका बझाङी राजाको समयमा रणनीतिक महत्व थियो । हिजो पनि यी दुई नदीबाट हुने कटानको समस्यामा थियो भने आज पनि यो समस्या यथावत् नै छ । 

बजारको आकार त बढेको पाएँ मैले तर रोजगारीका अवसरमा कति वृद्धि भयो त्यो भने थाहा हुन सकेन । भाङको खेती र व्यापारलाई वैध बनाइनुपर्ने भन्ने माग यहाँ हिजो पनि थियो र आज पनि छ । यस सम्बन्धमा राज्यबाट उल्ल्ेखनीय निर्णय हुन नसक्दा रोजगारीको अवसरका लागि एउटा ठूलो क्षेत्र उपेक्षित रहन बाध्य छ । दोस्रोपटकको बझाङ यात्रामा रहँदा नेपाली कांगेसका नेता मित्र ज्ञानवहादुर बोहरासँग भेटघाट जुरेको थियो । 

यस्तै बझाङ आएर प्रसिद्ध देउडा गायक मित्र नन्दकृष्ण जोशीलाई सम्झिइएन भने बझाङ यात्रा एक किसिमले अधुरो नै मानिन्छ । मैले उनीसँग सम्पर्क गर्ने प्रयास गरेँ । तर यहाँ नभएका कारण उनीसँग भेट हुन सकेन ।

दोस्रो पटकको यात्रामा पनि सुर्मादेवीको दर्शन एक किसिमले अनिवार्य नै थियो । बजार पनि एकसरो घुमिसकिएको थियो । अब हामी यहाँ धेरै समय व्यय गर्न सक्ने अवस्थामा थिएनौँ । जगतका साथै शैलेन्द्र रोकाया, जगदीश रोकाया, वसन्तप्रताप सिंह, ललित सिंह, रमानन्द जोशीलगायतका पत्रकार अनुजहरु सँगै थिए । 

हामी एकैछिन सेती किनारतर्फ गयौँ । सेती आज पनि उही गतिमा उही दिशामा बगिरहेको पाएँ । कटानको सम्भावना झनै बढेको रहेछ । एकछिन त्यहीँ बसेँ र मनमा एउटा प्रश्न बोकेर फर्किएँ–सेती र बाउलीले आफ्नो आकार बढाउने निरन्तर प्रयास गरिरहेको सन्दर्भमा चैनपुरको  आकार घट्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । तर मानिसको संख्या बढिरहेको चैनपुरको सुरक्षाको लागि कुनै सशक्त उपाय किन अवलम्बन नगरिएको होला ?    
हाम्रा कुरा

प्रतिकृया दिनुहोस

कवि ठाकुर बेलबासेको कविताकृति ‘चोटहरुको उत्सव’ लोकार्पित

काठमाडौं । कवि तथा सञ्चारकर्मी ठाकुर बेलबासेको नवितम् कविताकृति ‘चोटहरुको उत्सव’ कविता संग्रहको शुक्रबार लोकार्पण गरिएको छ । काठमाडौंमा

मेरी आमा तिम्री आमा

मीरा राजभन्डारी अमात्य ,कतामरी मार्च २२ - २०२५   किन हो अचेल हरेक हात हरु मा तिमी आमा देख्छु हरेक हात का स्वाद हरु मा तिम्रा स्वाद हरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)नेपाल च्याप्टरको आयोजनामा प्रा.डा गोपी उप्रेतीको प्रकृत्या सह जीवनम् पुस्तक लोकार्पण समारोह सम्पन्न |

        विश्वराज अर्याल काठमाडौँ, पौष  ६।  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा प्रा डा गोपी उप्रेतीको प्रकृत्या सह