• बिहीबार-८-११-२०८३/ 26-Thursday-2026

रास्वपामा क्यान्डिडेट क्लब : प्रमुख पदमा आकर्षण, अन्य पदमा छैन उत्साह

काठमाडौँ । गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तह निर्वाचनमा सबैको ध्यान पालिका प्रमुखमा मात्र गएकोप्रति तीव्र असन्तुष्टि पोखे ।

गृह जिल्ला चितवनमा आन्तरिक प्रशिक्षणको क्रममा पार्टीभित्र देखिएको समस्याप्रति कटाक्ष गर्दै लामिछानेले सांसद पदबाट राजीनामा दिएर वडाध्यक्षमा उठ्नु पर्ला भनेर व्यङ्ग्य गरेका थिए । पार्टी स्थापना भएको साढे चार वर्षमा २१ सिट बाट १८२ सिट जितेर कीर्तिमान बनाएको रास्वपाका नेता तथा कार्यकर्ताहरूको ध्यान पालिका प्रमुख र सांसद पदमा मात्र गएकोप्रति असन्तुष्टि पोखेका थिए ।

 

 

 

‘वडामा चुनाव लड्न त म आफैँ राजीनामा दिएर वडाध्यक्ष उठ्नुपर्ला जस्तो छ ! हाम्रा साथीहरू वडाध्यक्षको पदलाई हेर्दै हेर्दैनन्, एकैचोटि पालिका प्रमुख, सभापति वा सांसद मात्र हुन खोज्छन्,’ उनले भनेका थिए, ‘माथि मात्र हेर्ने, तल नहेर्ने ! यहाँ कसैलाई वडाध्यक्ष हुन मन छैन । यदि त्यस्तै हो भने म राजीनामा दिएर वडाध्यक्ष लड्न आउँछु, तपाईंहरू त निकै ठुला पो हुन थाल्नुभयो !’

 

असोज १७ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समिति’ गठन गरेको थियो । कात्तिक १५ गते बसेको उम्मेदवार छनोट रूपरेखा समितिको बैठकले कार्यान्वयन तथा समन्वयका लागि विभिन्न उपसमितिहरू‌ गठन गरिएको थियो ।

 

क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा. तोसिमा कार्की, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिमा मिलन लिम्बू छन् । समितिमा पार्टीको सातै प्रदेशका सभापतिहरू पदेन सदस्य रहनेछन् ।

 

क्यान्डिडेट क्लब मार्फत रास्वपाले पहिले गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरूको लागि उम्मेदवारी आह्वान गरेको थियो । दोस्रो चरणमा नगरपालिका र तेस्रो चरणमा महानगरपालिका र नगरपालिकाका लागि उम्मेदवारी आह्वान गरेको थियो । तर, स्थानीय तहमा जनतासँग प्रत्यक्ष जोडिएका वडाध्यक्ष र सदस्यहरूका लागि अपेक्षाकृत आवेदन नपरेपछि सभापति लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताहरू अवसरवादी बन्दै गएको निष्कर्ष निकालेका थिए ।

 

लामिछानेले भनेका थिए, ‘मैले त कसैले वडाध्यक्षका लागि आवेदन दिएको देखिनँ, सबैलाई एकैचोटि मेयर वा प्रदेशमा माननीय नै हुनुपरेको छ ! वडा त कसले हेर्ने हो र, देशै बनाउने हो, वडा के बनाउने, होइन ? यसले के देखाउँछ भने हामी अवसरवादी राजनीतितर्फ उन्मुख हुँदैछौँ। बाहिर नदेखाए पनि भित्र छर्लङ्गै देखिइसकेको छ ।’

 

देशभर ७५३ पालिका र ६ हजार ७४३ वडामा सरकारले आगामी फागुनमा निर्वाचन गराउने गरी गृहकार्य गरिरहेको छ । गत वर्ष जेनजी आन्दोलनपछि फागुनमा भएको निर्वाचनमा रास्वपाले ५१ लाख ८५ हजार लोकप्रिय मत प्राप्त गरेको थियो । निर्वाचनमा संविधान संशोधनलाई प्रमुख मुद्दा बनाएको रास्वपाले स्थानीय तह निर्वाचनमा पनि अत्याधिक मत जित्नुपर्ने बाध्यता छ । संविधान संशोधनका लागि राष्ट्रिय सभामा दुइ तिहाइ पुग्नुपर्ने हुन्छ । राष्ट्रिय सभामा २०८४ र २०८६ मा झण्डै दुइ तिहाइ सदस्यको पदावधि सकिँदैछ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र प्रदेश सभा सदस्य मतदाता रहनेछन् ।

उम्मेदवार छनोट रूपरेखा समितिका एक सदस्यका अनुसार पार्टी कार्यकर्ताको प्राथमिकतामा मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदमा बढी आवेशन परेकोछ । प्राप्त आवेदनका आधारमा पदीय भूमिकाअनुसार कार्यकर्ताले कम प्राथमिकतामा राखेर अन्य पदहरू वडाध्यक्षमा आवेदन दिएका छन् ।

‘कुन कुन पदमा कति आवेदन पर्यो भनेर हामीले हेरेका छैनौँ । मोटामोटी रूपमा अहिलेसम्म प्रमुख पद मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षमा बढी रूचि देखिएको छ,’ रातोपाटीसँग ती सदस्यले भने, ‘अन्य पदमा पनि आवेदन नआएको त होइन तर मेयर, अध्यक्ष पदका लागि बढी आकांक्षी देखिएका छन् ।’

यद्यपि संयोजक विपिन कुमार आचार्यले स्थानीय तहका उम्मेदवारका लागि आवेदन उत्साहजनक नै रहेको बताएका छन् । उनका अनुसार आवेदनका लागि समयसिमा नतोकिएकाले तिहारपछि बढ्न सक्ने बताए ।

‘नगरपालिकाका मेयर/उपमेर, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षको तुलनामा वडाध्यक्ष/सदस्यहरूमा आवेदन कम परेको हो,’ आचार्यले भने, ‘हामीले आवेदनका लागि समयसिमा तोकेका पनि छैनौँ । निर्वाचन कहिले हुन्छ भनेर मिति तय भएको पनि छैन । त्यसैले उत्साह नदेखिएको पनि हुन सक्छ ।’

आगामी स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेदवार छनोट गर्न रास्वपाले भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको थियो । रुपरेखामा उम्मेदवार छनोट आचारसंहिता तथा दण्ड–सजयासम्बन्धी पाँच बुँदे विशेष व्यवस्था गरिएको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न, उम्मेदवार छनोट प्रक्रियाप्रति सदस्य तथा नागरिकको विश्वास कायम राख्न र स्थानीय तहको उम्मेदवार छनोटलाई पूर्ण रूपमा पारदर्शी, निष्पक्ष, मर्यादित र विधिसम्मत बनाउन शून्य सहनशीलता (जिरो टोलरेन्स) को नीतिसहित आचारसंहिता तथा दण्ड–सजायसम्बन्धी विशेष व्यवस्था लागू गरिएको छ । आर्थिक लेनदेन तथा चलखेलमा पूर्ण प्रतिबन्ध, आन्तरिक मतदान तथा मूल्यांकनमा धाँधलीविरुद्ध कडा कारबाही, छनोट समितिमा संलग्न पदाधिकारी तथा सदस्यहरूको आचरण, गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मानिनेछ ।

रास्वपाले स्थानीय तहको उम्मेदवार बन्नका लागि ४ बुँदे मापदण्ड बनाएको छ । रूपरेखाअनुसार उम्मेदवार छनोटमा प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी ४० प्रतिशत भाराङ्क दिइएको छ । त्यस्तै, लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीलाई २५–२५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भार निर्धारण गरिएको छ ।

उम्मेदवार बन्न इच्छुक व्यक्तिले सुरूमा पार्टीको क्यान्डिडेट क्लबमा आवेदन दर्ता गराउनुपर्नेछ । क्लबमा दर्ता भएका सबै आकांक्षीले स्थानीय शासन, कानुन, सुशासन, डिजिटल साक्षरता, सार्वजनिक वित्त र पार्टीका नीतिसम्बन्धी अनिवार्य प्रशिक्षण लिनुपर्नेछ । लिडरसिप एकेडेमीको मूल्याङ्कनमा तोकिएको न्यूनतम मापदण्ड उत्तीर्ण गर्ने आकांक्षीले मात्रै छनोट प्रक्रियामा प्रवेश पाउनेछन् । अनुत्तीर्ण हुने आकांक्षी स्वतः प्रक्रियाबाट बाहिरिने व्यवस्था गरिएको छ ।

रूपरेखामा समावेशिताका लागि १० प्रतिशत भार छुट्याइएको छ । यसअन्तर्गत खुला पदमा उम्मेदवारी दिने महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, अल्पसंख्यक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, युवा, वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरेका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग र दुर्गम क्षेत्रका प्रतिनिधिलाई समेटिएको छ ।

आन्तरिक मतदातामध्ये कम्तीमा २५ प्रतिशतले मतदान नगरेमा प्रारम्भिक निर्वाचन अवैध हुने र त्यसको भाराङ्क शून्य मानिने व्यवस्था गरिएको छ । प्रारम्भिक निर्वाचनमा ‘नन अफ द एभब’ (नोटा) अर्थात् कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्पसमेत राखिएको छ । नोटाले सबैभन्दा बढी मत पाएमा सम्बन्धित पदका सबै उम्मेदवारी खारेज गरी नयाँ उम्मेदवार छनोट र पुनः मतदान गरिने रूपरेखामा उल्लेख छ ।

रास्वपा पहिलो दल भएका व्यक्तिले पार्टी सदस्यता लिएको कम्तीमा ४५ दिनपछि मात्रै पालिका प्रमुख, उपप्रमुख वा वडाध्यक्षका लागि उम्मेदवार बन्न पाउनेछन् । वडा सदस्यका लागि भने कम्तीमा तीन दिनको अवधि तोकिएको छ । अन्य दलबाट रास्वपा प्रवेश गरेका व्यक्तिका हकमा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि कम्तीमा ९० दिन तथा वडा सदस्यका लागि कम्तीमा सात दिन पार्टी सदस्य भएको हुनुपर्नेछ ।ratopati

प्रतिकृया दिनुहोस

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताउनुभएको छ। उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन

देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए राणा

देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा सर्वसम्मत निर्वाचित भए रोज राणा काठमाडौं । नेपाली कांग्रेस (देउवा समूह) को लुम्बिनी प्रदेश सभापतिमा युवा नेता

विस्तृत शान्ति सम्झौताको २० वर्ष : सङ्क्रमणकालीन न्यायका सवाल अधुरै रहेकोमा इन्सेकको चिन्ता

काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदासमेत द्वन्द्वपीडितले न्याय र परिपूरण पाउन नसकेको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र