स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुपर्ने बताउनुभएको छ। उहाँले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुने भन्दै आगामी वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।
प्रेस चौतारी नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय र प्रदेश निर्वाचन एकैपटक गर्न नहुने स्पष्ट पार्नुभयो।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गते सकिने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने एमालेको मान्यता रहेको उहाँले बताउनुभयो। स्थानीय तहलाई छ महिनासम्म जनप्रतिनिधिविहीन राख्नु अस्वीकार्य हुने र त्यसले राष्ट्रियसभा तथा राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित पार्न सक्ने उहाँको भनाइ थियो।
महासचिव पोखरेलले संविधानका आधारभूत अधिकार कटौती नगरी त्यसलाई थप सुदृढ बनाउने उद्देश्यले मात्र संशोधन गर्न सकिने पनि बताउनुभयो।













प्रतिकृया दिनुहोस