भैरहवा एयररुट पाउँदा नेपाल आउने जहाजलाई कति हुन्छ सहज ?
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नागरिक उड्डयन क्षेत्रमा एउटा ब्रेकथ्रुजस्तै भयो । दुई देशबिचको संयुक्त प्रेस विज्ञप्तीमा विदेशबाट नेपाल आउने जहाजलाई नेपाली आकाशमा छिर्दा दिइने एयररुट थप गर्ने उल्लेख गरिएको छ ।
हाल नेपालले यसरी विदेशबाट आउने जहाज सिमराबाट मात्रै प्रवेश पाउने व्यवस्था रहेकोमा अब भैरहवाबाट समेत भित्रिन पाउनेगरी एयररुट दिन भारत सहमत भएको छ । यो सहमतिले हालसम्म निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको सञ्चालन गर्न तथा त्रिभुवन विमानस्थलमा आउने जहाजको लागत घटाउन सहयोग पुग्ने देखिएको छ ।
यसअघि सरकारले भारतसँग भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट नेपाल प्रवेशका लागि अनुमति माग्दै आएको थियो । यसमध्ये पहिलो सबैभन्दा छोटो रुट भैरहवा नै हो । यसअघि गोरखनाथ एयरबेसको सुरक्षा थ्रेटको कारण देखाउँदै एयररुट दिन अस्वीकार गर्दै आएको भारतले यसपटक भने भैरहवा रुट नै दिन सहमति जनाएको हो ।
यो सहमतिले नेपालबाट विदेशमा रोजगारीमा जाने श्रमिकदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकलाई समेत सहज हुने अपेक्षा गरिएको छ । योसँगै क्षत्रीय विमानस्थलहरूबाट भारतीय सहरमा सीधा हवाई सञ्जाल विस्तारमा समेत सहजता मिल्ने देखिएको छ ।
तर, यो सहमतिले उडानमा कसरी र कति सहज हुन्छ ? कति लागत बचत हुन्छ र कति समय घट्छ भन्ने सम्बन्धमा आम रूपमा चासो छ ।
एयररुट पाउँदा पश्चिमबाट आउने जहाजलाई कसरी हुन्छ फाइदा ?
नेपालमा दैनिक करिब १ सयदेखि ११५ वटासम्म अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गरेका छन् । अन्तर्राष्ट्रिय उडान बाहिरिनका लागि नेपालसँग धेरैवटा प्रस्थानविन्दु छ । तर, विदेशबाट जहाज भित्रिने जहाजका लागि भने भारततर्फ सिमरा मात्रै प्रवेश बिन्दुको रूपमा रहेको छ ।
पूर्वी गन्तव्यदेखि पश्चिम एशियासम्म जाने जहाज भारतीय आकाश हुँदै सिमराबाट मात्र नेपाल पस्न बाध्य छन् । चीन र हङकङ र दक्षिण कोरिया र जापानबाहेक अन्यत्रबाट आउने सबै जहाज सिमरा हुँदै आउने गरेका छन् । यसमध्ये पश्चिम एशियाका मुलुकहरू कतार, युएई, साउदी अरब, कुवेत, टर्किए तथा भारतकै दिल्ली, मुम्बई, बैंङलोर लगायतका सहरबाट आउने उडानले फन्को लगाएर सिमराबाट भित्रिनुपर्ने बाध्यता थियो ।
यसबाहेक भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा यही एयररुटका कारण समस्या हुँदै आएको थियो । यी विमानस्थलहरूमा जाने जहाजले सिमरासम्म आएर पुनः पश्चिमतिर यूटर्न लिनुपर्दा भैरहवाका लागि करिब २ देखि ३ सय किलोमिटर अतिरिक्त थप उड्नुपर्ने बाध्यता थियो । यो कारणले यी विमानस्थल तुलनात्मक रूपमा महँगो हुन पुगेको थियो ।
भैरहवा प्रवेश बिन्दु खुलेसँगै पश्चिम एशिया र भारतका विभिन्न सहरबाट आउने जहाजलाई सिधै नेपाली आकाशमा छिर्न बाटो खुल्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजकुमार क्षत्रीका अनुसार मध्यपूर्व तथा पश्चिम एशियाबाट काठमाडौं आउने जहाज भैरहवाबाट प्रवेश गर्न पाउँदा प्रतिउडान १५ मिनेटसम्म समय बचत हुनेछ । भैरहवा र पोखराका लागि त्योभन्दा धेरै समय लाग्नेछ । ठुला वाइडबडी र न्यारोबडी जहाजका लागि यति समय बचत हुनु आर्थिक र प्राविधिक दुवै दृष्टिले निकै महत्त्वपूर्ण मानिन्छ ।
उडान समय घट्दा हवाई इन्धनको खपत उल्लेख्य मात्रामा कम हुन्छ । यसका साथै क्रु मेम्बरको उडान अवधि घट्दा तिनको भत्ता र सञ्चालन खर्च पनि कम पर्न जान्छ । सञ्चालन लागत घटेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडादर घटाउन सक्ने अवस्था बन्छ । यसको प्रत्यक्ष लाभ वैदेशिक रोजगारीमा आउजाउ गर्ने नेपाली श्रमिक र पर्यटकले पाउनेछन् ।
अर्कोतिर काठमाडौंको हवाई ट्राफिकका कारण हुनुपर्ने होल्डलाई कम गर्न समेत सहयोग पुर्याउनेछ । यद्यपि, महेन्द्रनगर वा नेपालगञ्जको रुट प्राप्त भएको भए पश्चिमबाट पोखरा जाने जहाज अलिकति घुम्नुचाहिँ पर्छ । यद्यपि डेढ दशक लामो गतिरोधपछि भैरहवा रुट खुल्नुलाई उड्डयन क्षेत्रले ठुलो उपलब्धिका रूपमा हेरिएको छ ।
भारतीय सहरमा उडान सहज
भैरहवा प्रवेश मार्ग खुलेपछि नेपाल र भारतबिचका क्षत्रीय उडान विस्तारमा समेत नयाँ ढोका खुल्ने देखिएको छ । हाल नेपाली वायुसेवा कम्पनी बुद्ध एयरले काठमाडौं–बनारसमा नियमित उडान गर्दै आएको छ । तर, दुईतर्फी प्रवेश मार्ग नहुँदा उडान व्यवस्थापनमा समस्या थियो ।
अहिले बुद्ध एयरको जहाज नेपालबाट बनारस जाँदा भैरहवाको निकास बिन्दु प्रयोग गरेर बाहिरिने गरेको छ, तर फर्कंदा भने सिमरासम्म घुमेर आउनुपर्ने बाध्यता रहँदै आएको छ । भैरहवाबाटै भित्रिन पाउने व्यवस्था कार्यान्वयनमा आएसँगै अब जाँदा र आउँदा दुवैतर्फ सोझो र छोटो दूरीको उडान सम्भव हुनेछ ।
यसले काठमाडौं मात्र होइन, पोखरा र भैरहवा विमानस्थललाई भारतका प्रमुख धार्मिक, पर्यटकीय र व्यावसायिक सहरहरूसँग सीधा हवाई सञ्जालमा जोड्न सहज बनाउनेछ । विशेषगरी लुम्बिनी आउने भारतीय तथा अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्री र पोखरा घुम्न आउने पर्यटकका लागि यो रुट निकै उपयोगी साबित हुन सक्ने पूर्वमहानिर्देशक क्षत्री बताउँछन् ।
यो सहजताले भैरहवा र पोखरामा उडान लागत घट्ने र विदेशी वायुसेवाका लागि यी गन्तव्य व्यावसायिक रूपमा आकर्षक बन्ने विश्वास लिइएको छ । यद्यपि, एयररुट मात्र प्राप्त हुँदैमा विमानस्थल स्वतः चल्ने नभई यात्रुको पर्याप्त संख्या, सहज बजार र एयरलाइन्सको नाफा सुनिश्चित हुने वातावरण पनि उत्तिकै आवश्यक रहने उड्डयन क्षेत्रका जानकारहरू बताउँछन् ।
नेपालको आम्दानी र रोयल्टीमा के असर पर्छ ?
हवाई मार्गको प्रयोगसँग देशको राजस्व र वायुसेवाको लागत प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । अन्तर्राष्ट्रिय नियम अनुसार जहाज जुन देशको आकाश प्रयोग गर्छ, सोही देशलाई नेभिगेसन तथा एयर रुट प्रयोग शुल्क तिर्नुपर्छ । अहिले पश्चिमतिरबाट आउने जहाजले भारतीय आकाश हुँदै सिमरासम्म लामो दूरी तय गर्दा त्यसबापतको शुल्क भारतलाई बुझाउनुपर्ने अवस्था छ । नेपालले भने सिमरादेखि काठमाडौंसम्मको निकै छोटो दूरीको मात्र शुल्क पाउने गरेको छ ।
पूर्व महानिर्देशक क्षत्रीका अनुसार भैरहवाबाट सिमरासम्म उड्न लाग्ने करिब १० मिनेट बराबरको भारतीय आकाश अब प्रयोग गर्नु नपर्दा नेपाली तथा विदेशी वायुसेवाले भारतलाई तिर्ने एयर रुट शुल्क जोगिनेछ । अर्कोतिर नेपालमा उड्ने दूरी बढ्दा यसले नेपाली जहाजलाई केही सहज हुनेछ ।
टुङ्गिन बाँकी प्राविधिक विषयमा शतर्कता जरुरी
प्रधानमन्त्रीस्तरीय भ्रमणमा भएको यो सहमति राजनीतिक र नीतिगत स्तरको महत्त्वपूर्ण समझदारी हो । तर, यसको वास्तविक कार्यान्वयन दुवै देशका नागरिक उड्डयन निकायबिच टुङ्गिने प्राविधिक पक्षमा निर्भर रहनेछ ।
यसमध्ये सबैभन्दा मुख्य विषय जहाजको फ्लाइट लेभल हो । नेपालबाट भैरहवा हुँदै बाहिरिँदा जहाजका लागि उचाइको कुनै कडा सीमा तोकिएको छैन । तर, भित्रिँदा कति हजार फिटको उचाइबाट प्रवेश गर्न पाउने भन्ने विषय संयुक्त समझदारीमा स्पष्ट पारिएको छैन । त्यसैले, जाँदाखेरि जस्तै आउँदा पनि उचाइमा अनावश्यक बन्देज नतोकिनु अनिवार्य सर्त रहेको पूर्व महानिर्देशक क्षत्रीको भनाइ छ ।
यस्तै, भैरहवा विमानस्थल नेपाल–भारत सीमाबाट करिब ५ किलोमिटरको दूरीमा मात्र रहेकाले त्यहाँ जडित इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) र एप्रोच पाथको सञ्चालन अर्को महत्त्वपूर्ण प्राविधिक पाटो हो । यो विषयलाई पनि एयररुटसँगै समाधानमा ध्यान दिनुपर्ने सरोकारवालाहरू बताउँछन् ।ratopati













प्रतिकृया दिनुहोस