यी अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा हुने
काठमाडौँ । नेपाली कांग्रेसले विधान संशोधन गरेर दुई अवस्थामा पार्टीका नेता कार्यकर्ता स्वतः निलम्बनमा पर्ने व्यवस्था गरेको छ ।
निर्वाचन आयोगमा बुझाएको १५औँ महाधिवेशनबाट संशोधन गरिएको विधानमा पार्टीका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था गरिएको उल्लेख छ ।
पार्टी विधानको धारा ५० को उपधारा (९) पछि नयाँ उपधारा (१०) थप गर्दै यस्तो प्रावधान राखिएको हो ।
थप गरिएको उपधारा (१०) मा पार्टीको सबै तहको कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू पहिलो, फौजदारी कसुरको अभियोगमा थुनामा बसेको अवधिभर र दोस्रो, कुनै पनि तहको अदालतबाट कैद सजाय हुने ठहरी फैसला भएको अवस्थामा स्वतः निलम्बनमा पर्ने उल्लेख छ । निलम्बनसँगै सफाइ पाएको अवस्थामा फुकुवा हुने व्यवस्था पनि विधानमा समेटिएको छ ।
उपधारा (१०) को प्रतिबन्धात्मक वाक्यांशमा ‘अन्तिम अदालतबाट सफाइ पाएको अवस्थामा निजको निलम्बन स्वतः फुकुवा हुनेछ’ भनी स्पष्ट पारिएको छ । कांग्रेसको साबिकको विधानको धारा ५० मा यस्तो व्यवस्था नरहेकोमा यस पटक नयाँ उपधारा थपिएको हो ।
फौजदारी कसुरको अभियोग लागेका पार्टीका विभिन्न तहका कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई निलम्बन गर्ने स्पष्ट व्यवस्था गर्न प्रावधान थप गरिएको संशोधनको कारणमा उल्लेख गरिएको छprabhav news













प्रतिकृया दिनुहोस