बिहीबारदेखि नारायणी महोत्सव २०८३ सुरु
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बिहीबारदेखि नारायणी महोत्सव २०८३ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले उद्घाटन गर्नुभएको हो ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
बाढीले क्षतिग्रस्त बनाएको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा व्यवस्थित गरी महोत्सव सञ्चालनमा ल्याएको जनाएको छ । महोत्सवमा हट एयर बेलुन, जिरो ग्र्याभिटी राइड, मनोरञ्जनात्मक खेल, व्यापारिक स्टल, स्थानीय उत्पादन तथा विभिन्न खानाका परिकार राखिएका छन् ।
आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि बढाउने उद्देश्यले आयोजना गरिएको महोत्सवको साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।













प्रतिकृया दिनुहोस