चार महिनामा बागमतीको पुँजीगत खर्च ३.५६ प्रतिशतमा सीमित, राजस्व संकलन १९.३५ प्रतिशत
मकवानपुर । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को ४ महिना (कार्तिक मसान्तसम्म)मा कुल बजेट खर्च ७.६० प्रतिशत मात्र रहेको देखिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले कात्तिक मसान्तसम्ममा कुल विनियोजित बजेटको ७.६० प्रतिशत मात्र खर्च गरेको हो ।
मन्त्रालयको अनुसार प्रदेशको चालु खर्चको तुलनामा पुँजीगत अर्च अत्यन्त कमजोर देखिएको छ । प्रदेशको विकास निर्माणतर्फको पुँजीगत खर्च ३.५६ प्रतिशतमा सीमित छ ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा कार्तिक मसान्तसम्म ५ अर्ब ८ करोड ९२ लाख ८ हजार २५० रुपैयाँ खर्च भएको मन्त्रालयका शाखा अधिकृत इन्द्रराज संज्यालले बताए । जसमध्ये चालु खर्च तर्फ कुल २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ५२ करोड ४७ लाख २२ हजार २८० रुपैयाँ (१५.३५ प्रतिशत) खर्च भएको छ । पुँजीगत (विकास) खर्च तर्फ कुल ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ विनियोजन भएकोमा १ अर्ब ५६ करोड ४४ लाख ८५ हजार ९७० रुपैयाँ (३.५६ प्रतिशत) मात्र निकासा/खर्च भएको उनले बताएमन्त्रालयगत खर्चको स्थिति
प्रदेशको ठुलो बजेट भएका विकासे मन्त्रालयहरूको खर्च प्रगति निकै सुस्त देखिएको छ । सबैभन्दा धेरै बजेट प्राप्त गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ४.५३ प्रतिशतमा सिमित रहेको छ ।
२५ अर्ब ६० करोड ९ लाख ९३ हजार रुपैयाँ बजेट पाएको उक्त मन्त्रालयले कार्तिक मसान्तसम्ममा १ अर्ब १६ करोड ४ लाख १५ हजार २१० रुपैयाँ मात्र खर्च गरेको हो । मन्त्रालयको कुल खर्च मध्ये पुँजीगत खर्च ४.१७ प्रतिशत रहेको छ ।
त्यस्तै स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले ९ अर्ब ६ करोड ४ लाख २४ हजार रुपैयाँ बजेटमध्ये १ अर्ब १० करोड १५ लाख २९ हजार ७२० रुपैयाँ (१२.१६ प्रतिशत) खर्च गरेको छ भने खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले ८ अर्ब ९० करोड ७६ लाख १ हजार रुपैयाँ बजेटमध्ये २५ करोड ७५ लाख ४६ हजार ६८० रुपैयाँ (२.८९ प्रतिशत) मात्र खर्च गरेको छ । जसमा पुँजीगत खर्च १.६९ प्रतिशतमा सीमित छ ।
कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयले ६ अर्ब ७२ करोड १७ लाख ७० हजार रुपैयाँ बजेटमा ७७ करोड ९ लाख ७८ हजार ७२० रुपैयाँ (११.४७ प्रतिशत) खर्च गरेको छ भने उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले ५ अर्ब ३७ करोड ९६ लाख ६० हजार रुपैयाँ बजेटमध्ये २१ करोड ५१ लाख ३५ हजार २७० रुपैयाँ (४.०० प्रतिशत) खर्च भएको छ । जसमा पुँजीगत खर्च ०.२४ प्रतिशत मात्र छ ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले ७२ करोड ७७ लाख ७७ हजार रुपैयाँ बजेटमध्ये १६ करोड ४३ लाख ८९ हजार रुपैयाँ (२२.५९ प्रतिशत) खर्च गरी प्रतिशतका आधारमा सबैभन्दा अगाडि देखिएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयले १८ करोड २६ लाख ४५ हजार रुपैयाँ बजेटमा ३ करोड ५४ लाख ७१ हजार ५७० रुपैयाँ (१९.४२ प्रतिशत) खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ८.२० प्रतिशत बजेट खर्च गरेको छ ।
मुख्य न्यायधिवक्ताको कार्यालयले २ करोड १६ लाख ९१ हजार रुपैयाँ बजेटमा ४७ लाख १६ हजार ५१० रुपैयाँ (२१.७४ प्रतिशत) खर्च गर्दा प्रदेश व्यवस्थापिकाले १६.४२ प्रतिशत, प्रदेश लोक सेवा आयोगले १५.९७ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १५.१७ प्रतिशत बजेट खर्च गरेका छन् ।
स्थानीय तह (हस्तान्तरण) भएको अनुदान तर्फ ६ अर्ब ९१ करोड ५७ लाख ३८ हजार रुपैयाँ चालु बजेटमध्ये १ अर्ब २४ करोड ९३ लाख ४३ हजार ३७० रुपैयाँ (१८.०७ प्रतिशत) निकासा भएको छ । प्रदेशमा ‘कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा’ (१ करोड) र ‘अर्थ – विविध’ (२ अर्ब ३३ करोड ३१ लाख ४१ हजार) शीर्षकमा कार्तिक मसान्तसम्म कुनै पनि खर्च भएको छैन ।
राजस्व संकलन १९.३५ प्रतिशत
प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा कार्तिक मसान्तसम्म कुल आम्दानी भने वार्षिक अनुमानको १९.३५ प्रतिशत संकलन भएको छ । मन्त्रालयका शाखा अधिकृत संज्यालका अनुसार कुल ६६ अर्ब ९३ करोड ४३ लाख ३३ हजार रुपैयाँ आय हुने अनुमान गरेकोमा कार्तिक मसान्तसम्म १२ अर्ब ९५ करोड ४० लाख ५७ हजार २७० रुपैयाँ (१९.३५ प्रतिशत) प्राप्त भएको हो ।
प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त राजस्व हुने आय २२.४३ प्रतिशत संकलन गरेको उनले बताए । प्रदेशको उक्त शर्षिकमा वार्षिक ३२ अर्ब ६३ करोड ७६ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएकोमा ७ अर्ब ३२ करोड २१ लाख ७१ हजार ६३० रुपैयाँ संकलन भएको हो ।
सवारी साधन करबाट २ अर्ब ३६ करोड ८२ लाख ४८ हजार १५० रुपैयाँ (२८.७१ प्रतिशत), मूल्य अभिवृद्धि कर (भ्याट) बाट २ अर्ब १२ करोड ४५ लाख ५६ हजार ७१० रुपैयाँ (२३.४९ प्रतिनशत), घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ११ करोड ९८ लाख १२ हजार २०० रुपैयाँ (२३.९१ प्रतिशत) र अन्तःशुल्कबाट ६३ करोड ७७ लाख ७ हजार ८७० रुपैयाँ (१६.४५ प्रतिशत) प्राप्त भएको छ ।
यस्तै विज्ञापन करबाट १९.५१ प्रतिशत, दहत्तर बहत्तर बिक्रीबाट ३.६२ प्रतिशत र मनोरञ्जन करबाट ०.०९ प्रतिशत प्राप्त हुँदा वन, खानी तथा खनिज, विद्युत र पर्वतारोहण रोयल्टी भने शून्य रहेको छ ।
संघीय सरकारबाट प्राप्त अनुदान तर्फ प्रदेश सरकारले २६.०९ प्रतिशत प्राप्त गरेको छ । संघीय सरकारबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमानमा ३ अर्ब ९९ करोड ५१ लाख ८२ हजार ७७० रुपैयाँ प्राप्त भएको हो । जसमा समानीकरण अनुदान २५.०० प्रतिशत (२ अर्ब १० करोड ७४ लाख २५ हजार), सशर्त अनुदान पुँजीगत ३२.७६ प्रतिशत (९८ करोड ४ लाख ९० हजार ८०), सशर्त अनुदान चालु ३१.५२ प्रतिशत (८९ करोड १५ लाख ९८ हजार ८९०), समपूरक अनुदान पुँजीगत ३.०५ प्रतिशत (१ करोड ३२ लाख ८२ हजार ३०) र विशेष अनुदान चालु ०.८२ प्रतिशत प्राप्त भएको छ ।
प्रदेश सरकारको आन्तरिक स्रोत तर्फ भने ३०.३१ प्रतिशत संकलन रुराजस्व संकलन भएको छ । प्रदेशको आफ्नो स्रोतबाट ५ अर्ब २५ करोड ३८ लाख ९९ हजार रुपैयाँ संकलन गर्ने लक्ष्यमा १ अर्ब ५९ करोड २१ लाख ६७ हजार रुपैयाँ संकलन भएको हो । आन्तरिक आयमा चालक अनुमतिपत्र तथा सवारी दर्ता किताब (ब्लुबुक) दस्तुर को हिस्सा सबैभन्दा ठुलो छ । उक्त शीर्षकबाट ४०.८३ प्रतिशत (१ अर्ब १८ करोड २६ लाख ६१ हजार ६४० रुपैयाँ) संकलन भएको छ ।
व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १५ करोड ५० लाख ३ हजार १६० रुपैयाँ (२९.५२ प्रतिशत), यातायात क्षेत्रको आम्दानीबाट १३ करोड १८ लाख ५० हजार ६०० रुपैयाँ (१३.८८ प्रतिशत), प्रशासनिक दण्ड जरिवानाबाट ४ करोड ७ लाख ३४ हजार १३० रुपैयाँ (५५.८८ प्रतिशत), अन्य प्रशासनिक सेवा शुल्कबाट ३ करोड ३७ लाख ९४ हजार ५५० रुपैयाँ (२१.२६ प्रतिशत) र वन क्षेत्रको अन्य आयबाट २ करोड २४ लाख १० हजार २९० रुपैयाँ (५.६२ प्रतिशत) संकलन भएको छ ।
बीमादावी प्राप्ति शीर्षकमा ५ लाख अनुमान गरिएकोमा १ करोड २६ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । बेरुजु तथा गत वर्षको नगद मौज्दात तर्फ ०.३२ प्रतिशत राजस्व संकलन भएको छ । उत्त शिर्षकमा कुल १३ अर्ब ७२ करोड ७९ लाख ५३ हजार रुपैयाँ अनुमान गरिएकोमा कार्तिक मसान्तसम्म ४ करोड ४५ लाख ३५ हजार ८६० रुपैयाँ मात्र आम्दानीका भएको छ । ratopati













प्रतिकृया दिनुहोस